
शैलेश गुप्ता
पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका विभिन्न शक्तिपीठ तथा माता दुर्गा भवानीका मन्दिरहरूमा घटस्थापना गरी देवी दुर्गाको पूजा–अर्चना आरम्भ गरिएको छ। जमरा राखी दीप प्रज्वलन गर्दै नवदुर्गाको पूजाआजा सुरु गरिएको हो।
पोखरिया नगरपालिकाको वडा नं. ४ सतवरियास्थित लक्षवारमाई दुर्गा मन्दिर, पोखरिया बजार, बनकटवा सातोमाई देवीस्थान, सेमरबारी, लमरिया, फुलवरिया, श्रीसिया, रानीगन्ज, रहरिया, जगतपुर, मन्नपुर, बैरिया विर्ता, धोविनी गाउँपालिकाको लंगडी बजार, छिपहरमाई गाउँपालिका–४ मा रहेको छिपहरमाई दुर्गा मन्दिर, जगरनाथपुर गाउँपालिका तथा पकहामैनपुर गाउँपालिकाका विभिन्न स्थानमा घटस्थापना गरिई नवदुर्गाको पूजा सुरु गरिएको हो।
सतवरियास्थित लक्षवारमाई दुर्गा मन्दिरमा घटस्थापनाको दिनदेखि विजयादशमीसम्म दैनिक रूपमा देवी-देवता, भूत–प्रेत, दु:ष्ट र अध्यात्मिक आत्माहरूको छायाबाट मुक्ति पाउने धार्मिक विश्वास रहिआएको छ। देवीको कृपाबाट शरीरका कष्टहरू निवारण हुने जनविश्वास पनि रहिआएको छ।
विशेषगरी कालरात्रिको दिन देवीको विशेष पूजा गरिन्छ। सो दिन भूतप्रेत वा अध्यात्मिक प्रभावबाट पीडित व्यक्तिहरूको कष्ट हट्ने विश्वास गरिन्छ। त्यहाँ पुगेका श्रद्धालुहरूका अनुसार सोही दिन देवीको “खपर” पनि निकालिने चलन छ। यस पूजामा सहभागी भएपछिको मानसिक र शारीरिक पीडा हट्ने तथा विभिन्न दु:ख–कष्टहरू हट्ने जनविश्वास रहिआएको छ।




