
भारत–भुटान सीमासँग जोडिएको असमको तामूलपुर जिल्लाकी १७ वर्षीया नाबालिग किशोरी अञ्जली (नाम परिवर्तन गरिएको) लाई पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाबाट सकुशल उद्धार गरिएको छ। यो कारबाही संयुक्त र संवेदनशील मानवीय अभियान “मिशन निर्भया अपरेसन” अन्तर्गत सफलतापूर्वक सम्पन्न भएको हो।
प्राप्त जानकारी अनुसार कक्षा आठमा अध्ययनरत नाबालिग छात्रा करिब छ महिना अघि अचानक बेपत्ता भएकी थिइन्। यस सम्बन्धमा असमको तामूलपुर प्रहरी थानामा प्राथमिकी दर्ता गरिएको थियो। प्रहरी र परिवारको निरन्तर प्रयासका बाबजुद पनि किशोरीको कुनै सुराक नपाइएकाले मानव तस्करीको आशंका गहिरिँदै गएको थियो।
अत्यन्तै गरिब र पीडित परिवारको सहयोगका लागि Assam Center for Rural Development (ACRD Assam) ले यो मुद्दा इन्स्पेक्टर मनोज कुमार शर्माको ध्यानाकर्षण गराएको थियो तथा सशस्त्र सीमा बल (SSB) को सीमावर्ती मुख्यालय तेजपुरलाई पनि लिखित रूपमा जानकारी गराइएको थियो।
मामलाको गम्भीरतालाई मध्यनजर गर्दै इन्स्पेक्टर मनोज कुमार शर्माले तुरुन्तै अनुसन्धान सुरु गरे। परिवार, छिमेकी र विद्यालयका सहपाठीहरूसँग सोधपुछका साथै प्राविधिक विश्लेषण गर्दा एउटा शंकास्पद मोबाइल नम्बर पत्ता लाग्यो। अनुसन्धानका क्रममा उक्त नम्बरको लोकेसन दिल्ली नजिकै पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाको मन्सूरपुर थाना क्षेत्र अन्तर्गतको बेगराजपुर गाउँमा देखियो।
यस संवेदनशील प्रकरणमा मिशन मुक्ति फाउन्डेसन, नयाँ दिल्लीका निर्देशक वीरेन्द्र सिंहले विभिन्न एजेन्सीहरूबीच समन्वय स्थापना गर्दै अपराधीसम्म पुग्ने बाटो तयार गरे।
राष्ट्रिय मानवअधिकार आयोग (NHRC) का सदस्य प्रियंक कानूनगोको निर्देशनमा SSB को इंटेलिजेन्स इकाई (क्षेत्रीय मुख्यालय बेजपारा), मुजफ्फरनगर प्रहरी (उत्तर प्रदेश), मिशन मुक्ति फाउन्डेसन, रेस्क्यु एण्ड रिलिफ फाउन्डेसन तथा मानव तस्करी विरोधी इकाई, SSB क्षेत्रीय मुख्यालय बेजपाराको संयुक्त टोली गठन गरी विशेष अभियान सञ्चालन गरियो।
अपरेसन दुई तहमा सञ्चालन गरिएको थियो, जहाँ एक टोली जमीनी स्तरमा सक्रिय रह्यो भने अर्को टोली फोन कल तथा ह्वाट्सएप कलमार्फत प्राविधिक र समन्वय कार्यमा संलग्न रह्यो। संयुक्त प्रयासको परिणामस्वरूप आरोपीलाई पक्राउ गरियो र नाबालिग किशोरीलाई सुरक्षित रूपमा उद्धार गरियो।
उद्धारपछि नाबालिगलाई आवश्यक चिकित्सकीय उपचार तथा काउन्सेलिङका लागि सम्बन्धित एजेन्सीहरूलाई सुम्पिएको छ। यस प्रकरणसँग सम्बन्धित विस्तृत प्रतिवेदन शीघ्र प्रस्तुत गरिनेछ।
यो सफल अभियान मानव तस्करीविरुद्ध भइरहेको प्रयासमा अन्तर–एजेन्सी समन्वय र छिटो कारबाहीको सशक्त उदाहरण बनेको छ।




