
वीरगञ्जमा आयोजित एक कार्यक्रममा एचआईभी/एड्सको संक्रमण नियन्त्रणका लागि संघ सरकारको बजेट मात्र पर्याप्त नहुने भन्दै प्रदेश र स्थानीय तहले समेत सक्रिय रूपमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ। सहभागीहरूले एचआईभीसम्बन्धी कार्यक्रम कागजमै सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहआयोजनामा होटल मकालु, वीरगञ्जमा भएको पत्रकार अन्तरक्रियामा नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था, प्रमुख चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको हो।
कार्यक्रममा केन्द्रका निर्देशक डा. सर्वेश शर्माले सन् २०३० सम्म एड्स इपिडेमिक अन्त्य गर्ने राष्ट्रिय लक्ष्यअनुसार समावेशी र पहुँचयोग्य सेवामा केन्द्रित भएर काम भइरहेको जानकारी दिए। उनका अनुसार नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन्, जसमा ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन्। १४ वर्षमुनिका संक्रमित १ हजार ५८ जना छन् भने मधेश प्रदेशमा ४ हजार ६८७ जना उपचारमा रहेका छन्।
देशका ६४ जिल्लामा सञ्चालित ९६ वटा एआरटी सेन्टरमार्फत सेवा प्रवाह भइरहेको उल्लेख गर्दै डा. शर्माले भारतसँग खुला सीमा रहेका क्षेत्रहरूमा संक्रमणको जोखिम उच्च रहेको बताए। संक्रमित आमाबुबाले नियमित औषधि सेवन गर्नुपर्ने र शिशुमा संक्रमण नहोस भन्न विशेष सावधानी आवश्यक रहेको उनको भनाइ थियो।
यौनरोग नियन्त्रण कार्यक्रमका लागि बजेटको अभाव, एआरटी काउन्सिलरको कमी र हरेक वर्ष संक्रमितको संख्या बढ्नु चुनौतीका रूपमा देखिएको उनले बताए। सेवा विस्तार भइरहे पनि सरकारी बजेट घट्दै जानु चिन्ताजनक रहेको उनको धारणा थियो।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा क्षेत्रहरू एचआईभीका दृष्टिले संवेदनशील भएकाले यस विषयमा मिडियाले निरन्तर सहकार्य र सचेतना अभिवृद्धि गर्नुपर्ने बताए। सही सूचना प्रवाह र जनचेतनामा सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख बिनोद झा र वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जिल्ला र महानगरस्तरमा भइरहेको परीक्षण, उपचार र सचेतनाका गतिविधिबारे जानकारी गराए।
एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठले संस्थाले ४९ देशमा एचआईभी तथा यौनरोग क्षेत्रमा काम गरिरहेको जानकारी दिए। विश्वभर करिब २६ लाख एचआईभी संक्रमितलाई सेवा दिइरहेको एएचएफले सन् २००९ देखि नेपालमा टेकु अस्पतालबाट एआरटी सेवा सुरु गरेको र हाल १७ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको बताए। एचआईभी परीक्षण, समुदायस्तरमै उपचार, टीबी स्क्रिनिङ र सचेतनामार्फत सरकारलाई सहयोग भइरहेको उनको भनाइ थियो।
कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी गराएका थिए। एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले काउन्सिलिङ र फिल्ड अनुभव साझा गरेकी थिइन्। कार्यक्रममा एएचएफ नेपालका मयंक गुप्ता, राघवेन्द्र पाललगायत सरोकारवालाको उपस्थिति रहेको थियो भने केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले सहजीकरण गरेका थिए।




