
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन वीरगञ्ज टी–१० कप (दोस्रो संस्करण) गर्ल्स एन्ड जुनियर ब्वाइज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १४ गते (१३औँ दिन) पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
१३औँ दिन सम्पन्न खेलहरूमा गर्ल्सतर्फ दुई तथा जुनियर ब्वाइजतर्फ तीन खेलहरू भएका थिए।
गर्ल्सतर्फको पहिलो खेलमा ओम नेशनल एकेडेमीले साउथ जोन सेकेन्डरी स्कुललाई ४ विकेटले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रज्ञा क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यसैगरी, चौथो खेलमा साउथ जोन स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २२ रनले पराजित गर्दै विजय हासिल गर्यो। सो खेलमा प्रीति सहानी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
जुनियर ब्वाइजतर्फको दोस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गर्यो। उक्त खेलमा नितेश पटेल उत्कृष्ट खेलाडी घोषित भए।
तेस्रो खेलमा ब्लु हेभन एकेडेमीले लिटल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले पराजित गर्दै सशक्त प्रदर्शन गर्यो। सो खेलका ‘प्लेयर अफ द म्याच’ पृथ्वी पटेल बने।
पाँचौँ तथा अन्तिम खेलमा मनकामना सेकेन्डरी स्कुलले लिटल फ्लावर स्कुललाई सुपर ओभरमा पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्यो। उक्त खेलमा साहिल हुसैन ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा गर्ल्स तथा जुनियर ब्वाइज खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेटप्रेमी दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरिरहेका छन्। प्रतियोगिता आगामी दिनहरूमा अझै रोमाञ्चक हुँदै जाने आयोजकले जनाएको छ।




