नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पर्सा जिल्लाका लोकप्रिय तथा प्रभावशाली नेता रामरुप प्रसाद कुर्मी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

मधेसी खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित कुर्मी पर्सा जिल्लामा लामो समयदेखि पार्टी संगठन निर्माण, सुदृढीकरण तथा जनतासँगको निरन्तर सम्पर्कका कारण लोकप्रिय नेताका रूपमा परिचित छन्। पार्टीप्रति इमानदार, सरल स्वभाव र सबै समुदायप्रति समान व्यवहार गर्ने नेताको छवि बनाएका कुर्मी केन्द्रीय सदस्यमा चयन भएपछि पर्साका कांग्रेस कार्यकर्ताहरूले खुसी व्यक्त गरेका छन्।
कुर्मीले पार्टीका विभिन्न जिम्मेवारीमा रही तल्लो तहसम्म कांग्रेस संगठन बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। मधेसका सवाल, समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा जनअधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका कुर्मीको अनुभव र नेतृत्व क्षमताले पार्टीको केन्द्रीय तहमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उनको निर्विरोध निर्वाचनले पर्सा जिल्ला मात्र होइन, समग्र मधेस प्रदेशको राजनीतिक प्रतिनिधित्वलाई थप सुदृढ बनाएको कांग्रेस नेताहरूको धारणा छ। निर्वाचित भएपछि कुर्मीले पार्टीले दिएको विश्वास र जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै नेपाली कांग्रेसलाई अझ बलियो र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




