मारवाडी प्रिमियर लिग–३: चौथो दिनमा धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगरको जित

मारवाडी प्रिमियर लिग–३: चौथो दिनमा धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगरको जित

वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको चौथो दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा खेलाडी र दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरू स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको हो। प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० टोली सहभागी छन् भने प्रतियोगिता अवधिभर २३ खेल सञ्चालन हुने कार्यक्रम छ। प्रतियोगिताका विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।

चौथो दिनको पहिलो खेलमा ड फोग फाइटर कैलाश र धौलागिरी बौदिमाईबीच प्रतिस्पर्धा भएको थियो। खेलमा ड फोग फाइटर कैलाशले १५ ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा धौलागिरी बौदिमाईले १४.५ ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाउँदै ५ विकेटले जित हासिल गर्‍यो।

त्यसैगरी दोस्रो खेलमा अन्नपूर्ण टाइगर र निलगिरी जगर्सबीच प्रतिस्पर्धा भएको थियो। अन्नपूर्ण टाइगरले १२ ओभरमा ६ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। लक्ष्य पछ्याएको निलगिरी जगर्सले १२ ओभरमा ५ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सकेपछि अन्नपूर्ण टाइगर ९ रनले विजयी भयो।

प्रतियोगिताका खेलहरू हेर्न स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने गरेको आयोजकले जनाएको छ। आगामी दिनमा प्रतियोगिता अझ रोमाञ्चक बन्दै जाने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close