
मधेश प्रदेश प्रहरी संगठनभित्र गम्भीर आरोप–प्रत्यारोप र आन्तरिक विवाद तीव्र बन्दै गएको छ। सीमा वारपार हुने अवैध कारोवारमा संलग्न व्यापारीसँगको कथित सम्बन्ध सार्वजनिक हुने डरले कनिष्ठ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको आरोपपछि संगठन नै तरंगित बनेको हो।
प्रहरी स्रोतका अनुसार, जनकपुर क्षेत्रका कुख्यात तस्कर राजिव महासेठसँगको कथित ‘सेटिङ’ बाहिरिने त्रास बढेपछि वरिष्ठ सई सागर शम्शेर राणाविरुद्ध विभागीय कारवाही प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ। जानकी चौकी इन्चार्ज हुँदै जिल्ला प्रहरी कार्यालय धनुषामा क्राइम इन्चार्जका रूपमा कार्यरत राणालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप पनि लागेको छ।
स्रोतका अनुसार, डिआइजी गोविन्द थपलियाका विश्वासपात्र मानिएका वरिष्ठ सई जयलाल यादव र गोपाल थापा मगरले विभिन्न जालझेल र प्रपञ्च रच्दै राणालाई विवादमा तान्ने प्रयास गरेका छन्। करिब एक महिना अघि तस्कर महासेठसँग सम्बन्धित १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरिएपछि प्रहरीभित्र असन्तुष्टि बढेको र त्यसकै प्रतिशोधस्वरूप यस्तो अवस्था सिर्जना गरिएको बताइएको छ।
यसैबीच, वरिष्ठ सई राणा र महासेठबीचको भनिएको अडियो संवाद सार्वजनिक भएको छ। उक्त अडियोमा राणाले आफूलाई फसाउन षड्यन्त्र भइरहेको, कुनै व्यापारीसँग साँठगाँठ नरहेको र प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन्। घटनापछि उनी मानसिक तनावमा परेको कुरा पनि बाहिरिएको छ।
अडियो सार्वजनिक भएसँगै प्रदेश प्रहरी कार्यालय जनकपुरधामले राणाविरुद्ध विभागीय कारवाही सिफारिस गरेको छ, जसले संगठनभित्रको विवाद झन् चर्किएको देखिन्छ।
यता, जयलाल यादवमाथि पनि गम्भीर आरोप लागेका छन्। पर्सा प्रहरी कार्यालय वीरगञ्जमा दरबन्दी भए पनि प्रभावका आधारमा सिरहा जिल्लामा काजमा बसेर सप्तरीसम्म असुली धन्धा चलाएको आरोप स्रोतले लगाएका छन्। अर्का वरिष्ठ सई गोपाल थापा मगरसहित केही प्रहरी अधिकारीमाथि विभिन्न जिल्लाबाट रकम संकलन गर्दै आएको र काजको दुरुपयोग गरी प्रभाव विस्तार गरेको आरोप पनि छ।
स्रोतका अनुसार, मगरलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिए पनि केही दिनमै पुनः जनकपुर फर्काइएको दाबी गरिएको छ। यसले उच्चस्तरीय प्रभावको आशंका बढाएको छ।
त्यसैगरी, सर्लाही क्षेत्रबाट समेत नियमित रूपमा रकम संकलन गरी उच्च अधिकारीसम्म पुर्याइने गरेको आरोपले संगठनको छवि थप धूमिल बनाएको छ। सर्लाहीको पर्सा प्रहरी चौकीमा कार्यरत सई रोशन अधिकारीले प्रत्येक महिना रकम संकलन गरी जनकपुर पुर्याउने गरेको आरोप समेत स्रोतले लगाएको छ।
यसैबीच, प्रहरी संगठन छाडेका एक पूर्व प्रहरीले संगठनभित्र आर्थिक भ्रष्टाचार मौलाउँदै गएको र ठूला अधिकारी जोगिँदै साना कर्मचारीमाथि कारवाही हुने प्रवृत्ति बढेको गम्भीर आरोप लगाएका छन्।
यता, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले भने आफूलाई अनावश्यक रूपमा बदनाम गर्न खोजिएको दाबी गर्दै, संगठनमा अनुशासन कायम गर्न राणाविरुद्ध कारवाही सिफारिस गरिएको बताएका छन्।
यस घटनाले गम्भीर प्रश्न खडा गरेको छ—के वास्तवमै भ्रष्टाचारविरुद्ध कारवाही भइरहेको हो, वा सत्य दबाउन निर्दोषलाई बलिको बोका बनाइँदैछ ? यसको निष्पक्ष छानबिनको माग चर्किंदै गएको छ।



