डीआईजीको नाममा असुलीको अडियो बाहिरियो, दबाबले धनुषाका एसपी अस्पताल भर्ना

डीआईजीको नाममा असुलीको अडियो बाहिरियो, दबाबले धनुषाका एसपी अस्पताल भर्ना

मधेश प्रदेश प्रहरीभित्र आर्थिक लेनदेन र तस्करीको सेटिङ मिलाउने विषयलाई लिएर भइरहेको विवाद चर्किँदै गएको छ।

प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाको नाम जोडेर व्यापारीबाट रकम असुली गरिएको अडियो सार्वजनिक भएपछि संगठनभित्रको आन्तरिक कलह चुलिएको हो।

अडियो प्रकरणले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीचको सम्बन्धमा समेत दरार उत्पन्न गराएको छ।

प्रदेश कार्यालयको अनावश्यक हस्तक्षेप र दबाबका कारण धनुषाका प्रहरी प्रमुख (एसपी) रुगम कुवर अस्पताल भर्ना भएका छन् भने अडियोमा सुनिएका एक जना वरिष्ठ सईलाई निलम्बनको सिफारिस गरिएको छ।

प्रहरी स्रोतमार्फत बाहिरिएको उक्त फोन संवाद जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणा र व्यापारी राजीव महासेठबीचको हो।

संवादमा व्यापारी महासेठले विभिन्न व्यापारीहरूसँग रकम संकलन गरी घुमुवा प्रहरी कर्मचारीमार्फत प्रदेश प्रहरी नेतृत्वलाई बुझाएको दाबी गरिएको छ।

डीआईजी थपलियाको नाममा घुमुवा प्रहरीमार्फत तस्करीको लाइन खुलाउन लाखौं रुपैयाँको चलखेल भएको विषय लामो समयदेखि चर्चामै थियो। अहिले सार्वजनिक भएको अडियोले भने उक्त लेनदेन प्रकरणलाई थप बल पुर्‍याएको छ।

संवादमा वरिष्ठ सई राणाले डीआईजीको नाममा घुमुवा सईले रकम लिएको विषय स्वीकार गरेको सुनिन्छ।

आर्थिक लेनदेन र घुमुवा प्रहरीको परिचालनलाई लिएर जिल्ला र प्रदेश प्रहरी कार्यालयबीच पनि मतभेद देखिन्छ। कर्तव्य पालनाको सिलसिलामा आफ्ना मातहतका कुनै पनि प्रहरी कर्मचारीले गल्ती गरे आफूले कारबाही गर्ने भन्दै धनुषाका एसपी रुगम कुवरले डीआईजी थपलियासमक्ष अडान लिएका थिए।

तर, आफ्नो क्षेत्राधिकार र कमान्ड कन्ट्रोलमा प्रदेशले हस्तक्षेप गरेपछि एसपी कुवरले लिएको अडान उनकै लागि प्रत्युत्पादक बन्यो। एसपी कुवरले अडान लिएकै कारण उनीमाथि विभिन्न आरोप लगाउँदै प्रदेश प्रहरी कार्यालयले कारबाहीका लागि दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

जागिर अवधिको २२ वर्षमा कहिल्यै स्पष्टीकरण नखाएका र व्यावसायिक छवि बनाएका एसपी कुवर प्रदेश प्रहरीको मानसिक दबाबका कारण सोमबार बिहान एक्कासि बिरामी परे।

उच्च रक्तचाप बढेपछि उनलाई जनकपुरस्थित आर्या हस्पिटलमा भर्ना गरिएको छ। अस्पताल पुर्‍याउँदासम्म उनको प्रेसर १४८/१०० पुगेको थियो।

पछिल्लो समय एसपी कुवर स्वयं दिनरात खटिएर करिब एक करोड रुपैयाँभन्दा बढीको तस्करीका सामान नियन्त्रणमा लिन सफल भएका थिए।

तर, तस्करीको जालो भत्काउन सक्रिय एसपीमाथि प्रदेश कार्यालयका घुमुवा सई जयलाल यादवमार्फत् अनावश्यक दबाब सिर्जना गर्ने कार्य भएको प्रहरी स्रोतको दाबी छ।

विवादको मुख्य जड गत चैत १ गतेको एउटा घटनासँग जोडिएको छ। त्यस दिन एक व्यापारीको भन्सारसँग सम्बन्धित विवादित सामान वरिष्ठ सई गोपाल थापा मगरले बरामद गरेका थिए।उक्त घटनाबारे माथिल्लो तहमा जानकारी पुगेपछि डीआईजी थपलियाले आफ्ना विश्वासपात्र मानिएका घुमुवा सई जयलाल यादव र वरिष्ठ सई मगरलाई जोगाउने उद्देश्यले कदम चालेको आरोप छ।

घटनामा संलग्न नै नभएका जिल्ला प्रहरी कार्यालय धनुषाका अन्य कर्मचारीलाई जिल्ला तान्न प्रदेशबाट निर्देशन दिइएको थियो। तर, यति गम्भीर निर्णय गर्दा जिल्ला प्रहरी कार्यालय (एसपी) सँग कुनै समन्वय नगरिएको भन्दै विवाद सुरु भएको थियो।

प्रहरी स्रोतका अनुसार डीआईजी थपलियाका विश्वासपात्रका रूपमा परिचालित यिनै दुई घुमुवाका कारण प्रदेश र जिल्ला प्रहरीबीचको सम्बन्ध बाझाबाझको स्थितिमा पुगेको हो।

वरिष्ठ सई मगरलाई प्रहरीकै उच्च पदस्थ अधिकारीको परिवारबाट मधेश पठाइएको चर्चा समेत प्रदेश प्रहरी वृत्तमा चल्ने गरेको छ।

यसैगरी, डीआईजीका अर्का विश्वासपात्र सई जयलाल यादवको दरबन्दी पर्सा प्रहरी कार्यालय वीरगञ्जको विपद् व्यवस्थापनमा रहेको छ। तर, उनी शक्तिको आडमा सिरहा जिल्लामा काजमा बसेर सप्तरीसम्मको क्षेत्रमा असुली धन्दामा सक्रिय रहेको आरोप छ।

व्यापारी महासेठमार्फत अन्य व्यापारीहरूसँग ‘कुरा मिलाउने’ प्रयास भइरहेको बेला अडियो सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयले एक्सन लिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आर्थिक लेनदेनसम्बन्धी संवाद बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बनका लागि प्रहरी मुख्यालयमा सिफारिस गरेको छ।

सार्वजनिक अडियोमा राणाले आफूलाई फसाउन षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले कुनै पनि व्यापारीसँग आफ्नो साँठगाँठ नरहेको र प्रमाणित भएमा जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्।

आफू जुनसुकै निकायमा गएर निर्भीक रूपमा सत्यतथ्य राख्ने तर नभएको घटनामा आफ्नो नाम जोडिएपछि मानसिक तनावमा परेको उनको भनाइ छ।

यद्यपि, प्रदेशले उनैविरुद्ध विभागीय कारबाही अघि बढाएपछि संगठनभित्रको विवादले झन् उग्र रूप लिएको छ।

डीआईजी भन्छन्- मलाई बदनाम गर्न खोजियो

आफ्नै नाम जोडेर घुमुवामार्फत असुली भएको अडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

उनले अडियोको सत्यतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘यो अडियो कसले र कसरी बनायो भन्ने मलाई जानकारी छैन, जसले बनायो उसलाई कारबाही गर्नेछौं।’

आफूलाई बदनाम गराउने नियतले संवाद बाहिर ल्याइएको उनको जिकिर छ। सभार:- nagariknews

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close