
रक्सौल, पूर्वी चम्पारण
सत्य एक हो, धेरै होइन। एउटै सत्य विभिन्न रूप र माध्यमबाट व्यक्त हुन सक्छ। जसरी चन्द्रमा एउटै हुन्छ, तर नदीको पानीका प्रत्येक थोपामा फरक–फरक रूपमा देखिन्छ, त्यसरी नै सत्यको अनुभूति पनि विभिन्न दृष्टिकोणबाट फरक देखिन सक्छ।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा सामाजिक कार्यकर्ता बिमल सर्राफ ले प्रेससँग कुरा गर्दै सत्यको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार सत्यसम्म पुग्ने बाटाहरू धेरै हुन सक्छन्, तर सत्य आफैं एक मात्र हुन्छ। मानिसहरू कहिलेकाहीँ बाटो वा माध्यममै अल्झिने भएकाले सत्यको वास्तविक अनुभूतिसम्म पुग्न सक्दैनन्।
उनले आँखाले देखिने कुरा संवेदनात्मक सत्य भएको र संसारमा अनुभव गरिने सत्य सापेक्षिक सत्य भएको बताए। एउटा सत्य अर्को सत्यसँग तुलना गर्दा कमजोर देखिन सक्छ, तर निरपेक्ष सत्य समय, स्थान र परिस्थितिभन्दा माथि रहने उल्लेख गरे।
उनका अनुसार निरपेक्ष सत्य परिवर्तनशील हुँदैन र कालातीत हुन्छ। समयलाई विगत, वर्तमान र भविष्यमा विभाजन गरिए पनि सत्य यी सीमाभन्दा पर रहन्छ।
सत्य जीवनमा कसरी प्रवेश गर्छ र त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा उनले उपनिषद्को उदाहरण दिँदै सत्यको खोजका लागि मनलाई जिद्दी र पूर्वाग्रहबाट मुक्त राख्नुपर्ने बताए। जहाँ जिद्दी हुन्छ, त्यहाँ सत्यको प्रवेश कठिन हुने उनको भनाइ थियो।
उनले स्वतन्त्र जिज्ञासालाई सत्यको खोजको पहिलो चरणका रूपमा व्याख्या गर्दै जिज्ञासाले विवेक जागृत गर्ने र सही–गलत छुट्याउन सहयोग गर्ने धारणा राखे।
बिमल सर्राफका अनुसार सत्यको अनुभूति नै जीवनको परम सौन्दर्य हो, जसले मानिसलाई आत्मबोध, विवेक र वास्तविक जीवन दर्शनतर्फ अग्रसर गराउँछ।



