चितवन प्रहरीमा ‘घुमुवा’ हेरफेरको तरंग : चर्चित असई हरि भट्टराई हटाइएपछि प्रहरीभित्रै तरंग, नयाँ एसपीको ‘क्लिनअप अभियान’ सुरु ?

चितवन प्रहरीमा ‘घुमुवा’ हेरफेरको तरंग : चर्चित असई हरि भट्टराई हटाइएपछि प्रहरीभित्रै तरंग, नयाँ एसपीको ‘क्लिनअप अभियान’ सुरु ?

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ प्रहरी प्रमुखको आगमनसँगै सादा पोसाक (घुमुवा) संयन्त्रमा गरिएको व्यापक हेरफेरले प्रहरी संगठनभित्र मात्र होइन, जिल्लाभरि नै चर्चा र चासोको विषय बनेको छ। वर्षौंदेखि सूचना संकलन, अपराध अनुसन्धान र फरार अभियुक्त पक्राउमा सक्रिय मानिएका प्रहरी कर्मचारीहरूलाई एकाएक जिम्मेवारीबाट हटाइएपछि यसको कारण र प्रभावबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

प्रहरी स्रोतका अनुसार हाल चितवनका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसपी रामेश्वर पौडेलले जिल्लाको आन्तरिक सुरक्षा संयन्त्र पुनर्गठन गर्ने अभियानअन्तर्गत लामो समयदेखि घुमुवा ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। यस क्रममा चर्चित एएसआई हरि भट्टराईलाई घुमुवा जिम्मेवारीबाट हटाइएको छ भने हवल्दार निशान लामिछानेलाई समेत उक्त टोलीबाट निकालेर नारायणी सामुदायिक अस्पतालको सुरक्षा व्यवस्थापनतर्फ खटाइएको बताइएको छ।

चितवन प्रहरीमा एसपी ओम अधिकारीको कार्यकालदेखि एएसआई हरि भट्टराई, नवराज अधिकारी, भाबेश रिमाल, गौतम मिश्र, राजन लिम्बु र गोविन्द पुरीलगायत प्रहरी कर्मचारीहरू सादा पोसाकमा परिचालित हुँदै आएका थिए। उनीहरू जिल्लामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण, सूचना संकलन तथा फरार अभियुक्त खोजीमा सक्रिय मानिन्थे।

यही टोलीका प्रमुख सदस्य मानिएका भट्टराईलाई हटाइएको विषयले प्रहरी वृत्तमा विशेष चर्चा पाएको छ। कतिपयले यसलाई नयाँ नेतृत्वको स्वाभाविक प्रशासनिक निर्णय भनेका छन् भने कतिपयले प्रहरीभित्र शक्ति सन्तुलन परिवर्तनको संकेतका रूपमा समेत हेर्न थालेका छन्।

प्रहरी स्रोतहरूका अनुसार एएसआई हरि भट्टराई चितवनका केही जघन्य तथा चर्चित घटनाको अनुसन्धानमा अग्रपंक्तिमा रहेका प्रहरीमध्ये एक थिए।

मिलनचोक क्षेत्रमा बोराभित्र दुई शव फेला परेको सनसनीपूर्ण घटनामा संलग्न आरोपीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याउने अपरेशनमा उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। त्यस्तै बुद्धचोकस्थित ग्यारेजमा खुकुरी प्रहार गरी फरार भएका अभियुक्तलाई पोखराबाट पक्राउ गर्ने अभियानमा पनि उनी सक्रिय थिए।

कल्याणपुर क्षेत्रमा बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई काठमाडौंबाट पक्राउ गरी घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गर्ने कार्यमा समेत भट्टराईको प्रत्यक्ष संलग्नता रहेको प्रहरी स्रोतहरूको दाबी छ।

यस्ता महत्वपूर्ण अनुसन्धानमा भूमिका खेलेका प्रहरी कर्मचारीलाई अचानक हटाइएपछि प्रहरी संगठनभित्रै विभिन्न कोणबाट चर्चा हुन थालेको छ।

एसपी रामेश्वर पौडेलले जिल्लाको सुरक्षा रणनीति, सूचना संकलन प्रणाली र अनुसन्धान संयन्त्रलाई नयाँ ढंगले सञ्चालन गर्न खोजेको प्रहरी अधिकारीहरू बताउँछन्। लामो समय एउटै जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरूलाई परिवर्तन गरी नयाँ जनशक्ति परिचालन गर्ने नीति अनुसार निर्णय गरिएको दाबी गरिए पनि यसलाई लिएर संगठनभित्र मिश्रित प्रतिक्रिया देखिएको छ।

केही प्रहरी अधिकारीहरूका अनुसार एउटै टोली लामो समयसम्म संवेदनशील जिम्मेवारीमा रहँदा सूचना सञ्जाल बलियो हुने भए पनि त्यसले विभिन्न किसिमका स्वार्थ समूहसँग निकटता बढ्ने जोखिम पनि रहन्छ। त्यसैले नयाँ नेतृत्वले पुरानो संरचना तोडेर आफ्नै शैलीको टोली निर्माण गर्न खोजेको हुनसक्ने विश्लेषण भइरहेको छ।

चितवनमा लागूऔषध कारोबार, संगठित अपराध, फरार अभियुक्त पक्राउ र गोप्य सूचना संकलनमा घुमुवा टोलीको भूमिका महत्वपूर्ण मानिँदै आएको छ। यस्तो अवस्थामा लामो अनुभव भएका सदस्यहरू हटाइएपछि अपराध अनुसन्धान र सूचना संकलन प्रणालीमा तत्कालीन असर पर्न सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।

यद्यपि जिल्ला प्रहरी कार्यालय चितवनले भने यसलाई नियमित प्रशासनिक प्रक्रिया भन्दै आएको छ। प्रहरी संगठनमा आवश्यकताअनुसार जिम्मेवारी परिवर्तन हुने र त्यसले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विश्वास प्रहरी नेतृत्वको छ।

नयाँ एसपीको आगमनसँगै सुरु भएको यो पुनर्गठन अभियानले चितवन प्रहरीभित्र शक्ति संरचना, कार्यशैली र अनुसन्धान प्रणालीबारे नयाँ बहस जन्माएको छ। चर्चित अनुसन्धानमा सक्रिय प्रहरी कर्मचारीहरूलाई हटाएर नयाँ टोली निर्माण गर्ने निर्णयले आगामी दिनमा अपराध नियन्त्रण, सूचना संकलन र सुरक्षा व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ।

अहिले भने चितवन प्रहरीको ‘घुमुवा टोली’मा भएको यो ठूलो हेरफेरले प्रहरी संगठनभित्र मात्रै होइन, सुरक्षा क्षेत्र र स्थानीय तहसम्म तरंग पैदा गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close