
वीरगन्ज।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तार र वर्षायामका कारण उत्पन्न हुन सक्ने समस्या तथा नगरबासीको सुरक्षा र सेवालाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिनुभएको छ।
मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई नागरिक सेवामा अझ जिम्मेवार, सक्रिय र अनुशासित भएर काम गर्न निर्देशन दिनुभएको हो।
रोलकललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले हाल वीरगन्जमा भइरहेको सडक विस्तार, नाला व्यवस्थापन तथा वर्षायामका कारण नगरबासीले विभिन्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नगरप्रहरीको भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले वीरगन्जबासीलाई हाम्रो ठूलो आवश्यकता छ। सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ। नाला व्यवस्थापनदेखि ट्राफिक समस्यासम्म सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्। त्यसमाथि वर्षाको मौसमले चुनौती थपेको छ। यस्तो अवस्थामा नागरिकको अपेक्षामा खरो उत्रिनु हाम्रो दायित्व हो।” उहाँले नगरप्रहरीलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै जुनसुकै बेला नागरिकको सेवामा खटिन तयार रहन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरबासीको सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको सुरक्षा नगरप्रहरीको पहिलो दायित्व भएको बताउनुभयो। आवश्यक सामग्री छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अनुशासन र जिम्मेवारीमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “नगरप्रहरीका सबै रेकर्ड मसँग सुरक्षित छन्। म यहाँ नयाँ भए पनि सबै कर्मचारीको फाइल अध्ययन गरेको छु। जागिरको प्रकृति जस्तो भए पनि सबैको दायित्व एउटै हो। सबैले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्न सिक्नुपर्छ।” उहाँले अनुशासनहीन गतिविधि गर्ने जोकोही कर्मचारीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिनुभयो।
नगरप्रहरीसम्बन्धी आएका गुनासोहरूलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत बोहराले कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन तथा आगामी गहवामाई रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन विशेष निर्देशन दिनुभएको छ।



