
मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् र त्यसको प्रभाव न्यूनीकरणका लागि वीरगन्ज महानगरपालिकाले आकस्मिक तयारी थालेको छ। शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठकले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकमा मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा सुदृढीकरण तथा वडा कार्यालयहरूलाई उच्च सतर्क अवस्थामा राख्ने विषयमा विस्तृत छलफल गर्दै आवश्यक स्रोत–साधन तयारी अवस्थामा राख्ने, मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्ने निर्णय गरिएको छ।
मनसुनका कारण महानगरका केही स्थानमा समस्या देखिन थालेकाले तत्काल अनुगमन टोली परिचालन गरी स्थलगत अवस्थाको मूल्याङ्कन, समस्या समाधान तथा सम्भावित राहत वितरणको पूर्वतयारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
विपद्का बेला स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सबै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने र आवश्यक निर्देशन जारी गर्ने निर्णय गरिएको छ।
यस्तै, सम्भावित जोखिमको पूर्वविश्लेषण गर्दै महानगरका सबै वडा कार्यालयलाई पूर्ण तयारी अवस्थामा रहन तत्काल पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि राजु प्रसाद साहलगायतको उपस्थिति रहेको थियो।
महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न आफ्नो सम्पूर्ण संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको जनाएको छ।




