हुण्डी, नक्कली पहिचान र क्रिप्टोकरेन्सी प्रयोग गरी हुने आर्थिक अपराध बढ्दो चुनौती

पर्सा प्रहरीको इतिहासमै पहिलोपटक सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नो इतिहासमै पहिलोपटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दर्ता गरी अनुसन्धानलाई थप तीव्र बनाएको छ। बढ्दो अवैध आर्थिक गतिविधि, संगठित अपराध तथा वित्तीय कारोबारमाथि प्रभावकारी नियन्त्रण कायम गर्ने उद्देश्यले प्रहरीले यो कदम चालेको जनाएको छ।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा मुलुकी अपराध संहिता, २०७४ बमोजिम जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरिएको हो। अनुसन्धानका क्रममा एक नेपाली र एक भारतीय नागरिकसहित विभिन्न व्यक्तिको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि नै मुख्य अभियुक्तलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइसकेको छ भने अन्य संलग्न व्यक्तिविरुद्ध पनि अनुसन्धान जारी रहेको छ। यसअघि यस्ता प्रकृतिका अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत हुने गरे पनि पहिलोपटक जिल्ला प्रहरी कार्यालय पर्साले नै अनुसन्धान गरी मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार विभिन्न मुद्दामा पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानका क्रममा अस्वाभाविक आर्थिक कारोबारको प्रमाण फेला परेपछि सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान विस्तार गरिएको हो। उनीहरूमाथि ठगी, दोहोरो नागरिकता, लागुऔषध तथा अवैध वित्तीय कारोबारसँग सम्बन्धित विषयमा समेत अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा २०८२ पुस १७ गते वीरगञ्ज महानगरपालिका–४ स्थित एक घरबाट करिब ५० हजार अमेरिकी डलर, विभिन्न देशका मुद्रा, चेकबुक तथा अन्य सामग्री बरामद गरिएको थियो। बरामद सामग्री र बैंक विवरणको विश्लेषणपछि अभियुक्तहरूले विभिन्न बैंक तथा डिजिटल माध्यममार्फत ठूलो परिमाणमा रकम कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानमा संलग्न व्यक्तिहरूले नेपाली र भारतीय नागरिकता प्रयोग गरी विभिन्न बैंकमा खाता सञ्चालन गरेको, २०७३ सालमा जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकता प्राप्त गरेपछि २०७५ सालमा भारतीय नागरिकता परित्याग गरेको विवरण दिए पनि भारतीय परिचयपत्र प्रयोग गरी भारतमा समेत बैंक खाता सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, दोहोरो परिचय प्रयोग गर्दै बैंक खाता सञ्चालन, मोबाइल बैंकिङ, फोन–पे तथा डिजिटल माध्यमबाट करोडौँ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ। अनुसन्धानका क्रममा ७ करोड ७७ लाख २३ हजार ३७२ रुपैयाँ बराबरको अस्वाभाविक आर्थिक कारोबारको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा विभिन्न बैंकबाट प्राप्त विवरणअनुसार करिब २ अर्ब ६५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ। सोमध्ये २८ लाख ६८ हजार ७९ रुपैयाँ वैध स्रोत पुष्टि नभएको प्रारम्भिक निष्कर्ष रहेको प्रहरीको भनाइ छ। साथै हालसम्म १६ लाख ५७ हजार रुपैयाँ डिजिटल कारोबारसँग सम्बन्धित विवरण संकलन भई विश्लेषण भइरहेको छ।

प्रहरीका अनुसार अभियुक्तहरूले पाँचवटा बैंक खातामार्फत २०७८ देखि २०८२ सम्म ठूलो परिमाणमा रकम जम्मा तथा निकासा गरेका छन्। विभिन्न व्यवसायका नाममा बैंक खाता सञ्चालन गरी वास्तविक स्रोत लुकाउने प्रयास गरिएको अनुसन्धानबाट देखिएको छ। हालसम्म एक करोड एक लाख ५२ हजार २०० रुपैयाँ नगद तथा इलेक्ट्रोनिक उपकरण, ल्यापटप, कम्प्युटर, मोबाइल, डिजिटल प्रमाण र अन्य सामग्री बरामद गरिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा प्राप्त विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको जनाएको छ। साथै हुण्डी कारोबार, डिजिटल माध्यमबाट हुने अवैध वित्तीय कारोबार, क्रिप्टोकरेन्सी र दोहोरो तथा नक्कली पहिचान प्रयोग गरी गरिएका आर्थिक गतिविधिबारे पनि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार अनुसन्धान अझै जारी रहेकाले आगामी दिनमा थप व्यक्ति, बैंक खाता तथा वित्तीय कारोबारसमेत अनुसन्धानको दायरामा आउने सम्भावना रहेको छ। साथै संगठित अपराध र अवैध आर्थिक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्र बहादुर मल्लले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close