घरजग्गा विवादमा वडा अध्यक्ष कानुको स्पष्टोक्ति : अदालतको फैसला र कानुनी प्रक्रियाअनुसार नै अघि बढेको दाबी

घरजग्गा विवादमा वडा अध्यक्ष कानुको स्पष्टोक्ति : अदालतको फैसला र कानुनी प्रक्रियाअनुसार नै अघि बढेको दाबी

वीरगंज । वीरगंज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले ओम साई क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरका प्रोप्राइटर सुरज कुमार चन्द्रवंशीले आफूमाथि लगाएको आरोप निराधार भएको दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वडा अध्यक्ष कानुले नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन गरी घर खाली गराउन खोजेको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारे। उनले अदालतको फैसला र प्रचलित कानुनी प्रक्रियाअनुसार नै वडा कार्यालयले आवश्यक पहल गरेको बताए।

कानुका अनुसार विवादित घरजग्गा बैंकको लिलामी प्रक्रियामार्फत २ करोड ४१ लाख रुपैयाँमा सबिता देवी सर्राफको नाममा आएको हो। अदालतबाट फैसला भइसकेपछि फैसला कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घरजग्गा खाली गराउन आग्रह गरिएको उनले बताए।

विवादलाई आपसी सहमतिबाट समाधान गर्न दुवै पक्षलाई पटक–पटक आग्रह गरिएको भए पनि चन्द्रवंशी पक्षले अटेरी गरेको वडा अध्यक्ष कानुको भनाइ छ। त्यसपछि विवाद थप जटिल बन्दै गएको र वडा कार्यालयमाथि नै विभिन्न आरोप लगाइएको उनले बताए।

कानुका अनुसार पितिड सर्राफले बैंकको २ करोड ४१ लाख रुपैयाँसहित दुई वर्षको ब्याजसमेत भुक्तानी गरेमा घरजग्गा तत्कालै चन्द्रवंशीको नाममा पास गरिदिने प्रतिबद्धता जनाएको दाबी गरेका छन्।

चन्द्रवंशी पक्षको नियतमाथि प्रश्न उठाउँदै कानुले बैंकको लगानी डुबाउने तथा अर्काको सम्पत्ति हडप्ने मनसाय देखिएको आरोपसमेत लगाए। यद्यपि, उक्त आरोप सम्बन्धित पक्षबाट पुष्टि हुन बाँकी रहेको छ।

वडा अध्यक्ष कानुले अदालतबाट प्राप्त पत्रका आधारमा वडा कार्यालयले सूचना जारी गरेको र नेपालको प्रचलित कानुनअनुसार नै प्रक्रिया अघि बढाइएको दोहोर्याए।

उनका अनुसार २०८३ असार ११ गते सबिता देवीको पक्षमा फैसला भएको थियो भने असार १५ गते सबिता देवीले घरजग्गा खाली गराइदिन वडा कार्यालयमा निवेदन दिएकी थिइन्।

वडा अध्यक्ष कानुले आफू व्यक्तिगत रूपमा कसैको पक्षमा नभई अदालतको फैसला तथा कानुनी प्रक्रियाको कार्यान्वयनमा मात्र सहजीकरण गरिरहेको स्पष्ट पारे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close