पक्राउ आदेश भएका अनमोल साहको नागरिकतामाथि गम्भीर प्रश्न : भारतीय मूलका परिवारमा ‘छपोलीया’ परिचयबाट ‘साह’ कसरी बने?

पक्राउ आदेश भएका अनमोल साहको नागरिकतामाथि गम्भीर प्रश्न : भारतीय मूलका परिवारमा ‘छपोलीया’ परिचयबाट ‘साह’ कसरी बने?

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतबाट पक्राउ आदेश जारी भएका वीरगंजका अनमोल साहको नेपाली नागरिकतामाथि गम्भीर प्रश्न उठेको छ। भारतको बिहारस्थित रामनगर (हरिनगर) निवासी अनिल छपोलीयाका छोरा भनिएका अनमोल नेपालमा कसरी ‘साह’ थरका नागरिक बने भन्ने विषयले अहिले नयाँ बहस सिर्जना गरेको छ।

वीरगंज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडि प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका अनमोललाई स्थानीयस्तरमा लामो समयदेखि ‘अनमोल छपोलीया’ भनेर चिनिँदै आएको बताइन्छ। तर, अदालतले जारी गरेको पक्राउ आदेशमा भने उनी वीरगंज महानगरपालिका–१३ निवासी अनिल साह कानुका छोरा ३६ वर्षीय अनमोल साह भएको उल्लेख छ।

अदालतको आदेश र स्थानीयस्तरमा उनको पारिवारिक पहिचानबीच देखिएको भिन्नताले अनमोलले नेपाली नागरिकता लिँदा पेश गरेका कागजात, बाबुको पहिचान तथा थर परिवर्तनको प्रक्रियामाथि प्रश्न उठाएको छ।

ठगी मुद्दामा पक्राउ आदेश, नागरिकतामाथि थप शंका
वीरगंज महानगरपालिका–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतले अनमोल साहलाई पक्राउ गर्न आदेश दिएको हो। पक्राउ आदेशमा उनको बाबुको नाम ‘अनिल साह कानु’ उल्लेख गरिएको छ।

तर, स्थानीय रूपमा अनमोलका बाबु भनेर चिनिने व्यक्ति भने अनिल छपोलीया हुन्। अनिल स्वयंले आफू भारत बिहारको रामनगर (हरिनगर) निवासी भएको बताएका छन्।

यसै कारण अनमोलले नेपाली नागरिकता प्राप्त गर्दा प्रयोग गरेका कागजात, नागरिकतामा उल्लेख गरिएको बाबुको विवरण, थर र नागरिकता प्राप्तिको कानुनी आधारबारे छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ।

यदि नागरिकता लिने क्रममा झुटा विवरण वा गलत कागजात पेश गरेको प्रमाणित भएमा विषय ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा मात्र सीमित नरही नागरिकता सम्बन्धी कसुरतर्फ समेत अनुसन्धान अघि बढ्न सक्ने कानुनी अवस्था रहन्छ।

‘छपोलीया’ परिचयबाट ‘साह’ थरमा कसरी पुगे अनमोल?
अनिल छपोलीया वीरगंजको मारवाडी समुदायमा लामो समयदेखि छपोलीया परिवारका रूपमा परिचित रहेको स्थानीयहरूको भनाइ छ। तर, अदालतको पक्राउ आदेशमा उनका छोरा अनमोलको बाबुको नाम ‘अनिल साह कानु’ र थर ‘साह’ उल्लेख भएपछि स्थानीयस्तरमा समेत प्रश्न उठेको छ।

यस विषयमा अनिल छपोलीयासँग प्रतिक्रिया लिँदा उनले आफू मारवाडी समुदायको ‘छपोलीया साह’ भएको दाबी गरे। उनले आफू भारतीय नागरिक भएको स्वीकार गर्दै अनमोल भने नेपालमै जन्मिएको र सोही आधारमा नेपाली नागरिकता लिएको दाबी गरे।

तर, अनमोलको नागरिकतामा बाबुको नाम ‘अनिल साह कानु’ कसरी उल्लेख भयो भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन सकेनन्।

भारतीय बाबु, नेपाली नागरिकता : प्रक्रिया छानबिनको माग
अनिलले आफू भारतीय नागरिक भएको बताएको अवस्थामा उनका छोरा अनमोलले नेपाली नागरिकता प्राप्त गरेको प्रक्रिया थप चासोको विषय बनेको छ। नेपालमा जन्मिएको आधारमा मात्रै नागरिकता प्राप्त गर्न मिल्ने वा नमिल्ने भन्ने विषय सम्बन्धित समयमा लागू रहेको कानुन तथा नागरिकता प्राप्तिका क्रममा पेश गरिएका प्रमाण र कागजातका आधारमा निर्धारण हुने विषय हो।

त्यसैले अनमोलले नेपाली नागरिकता कानुनी प्रक्रियाबाट प्राप्त गरेका हुन् वा गलत विवरण तथा कागजातको प्रयोग भएको हो, भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट छानबिन आवश्यक देखिन्छ।

यद्यपि, नाम, थर वा बाबुको विवरणमा देखिएको अन्तर मात्रैका आधारमा नागरिकता गैरकानुनी वा नक्कली भएको निष्कर्ष निकाल्न मिल्दैन। तर, यस्ता विवरणमा देखिएको विरोधाभासले सम्बन्धित निकायबाट अनुसन्धानको आवश्यकता भने औंल्याएको छ।

अदालतको आदेशपछि अनमोल फरार
ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतबाट पक्राउ आदेश जारी भएपछि अनमोल साह फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार उनी फरार सूचीमा रहेका छन् र उनको खोजी कार्य जारी छ।

अब अनुसन्धानका क्रममा प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपसँगै अनमोलको नागरिकता प्राप्तिको प्रक्रिया, बाबुको वास्तविक पहिचान, नाम–थर परिवर्तन तथा नागरिकता बनाउँदा पेश गरिएका कागजात समेत परीक्षण गर्छ कि गर्दैन भन्ने विषय महत्वपूर्ण बनेको छ।

यदि नागरिकता प्राप्त गर्दा झुटा विवरण पेश गरेको वा किर्ते कागजात प्रयोग गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार थप कानुनी कारबाही हुन सक्नेछ।

अदालतको पक्राउ आदेशमा उल्लेख भएको विवरण, नागरिकतासम्बन्धी विवरण र स्थानीयस्तरमा स्थापित पारिवारिक पहिचानबीच देखिएको फरकले उठाएका प्रश्नको जवाफ अब सम्बन्धित निकायको अनुसन्धानबाट खोजिनुपर्ने देखिन्छ। नागरिकताजस्तो संवेदनशील विषयमा देखिएको विरोधाभासबारे निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ। सभार:- राष्ट्रिय सहारा दैनिकबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close