नेपाल प्रहरीका दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा डा.मनोज केसी

नेपाल प्रहरीका दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा डा.मनोज केसी

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको हो।

आईजीपी पदबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ।

सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको हो। बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसेको थियो। कार्कीको स्थानमा उनकै ब्याची केसीलाई प्रहरी संगठनको नेतृत्वमा ल्याइएको हो।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबार बसेसँगै सरकारले नियमित कामकारबाहीलाई अघि बढाएको थियो।

कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता गरेको आरोप लगाउँदै आएका थिए। पछिल्लो समय बिचौलियाका रूपमा चर्चित इनम सापकोटासँग कार्की र अर्का एआईजी राजन अधिकारीको समेत सम्पर्क रहेको विवरण सार्वजनिक भएको थियो।

यसअघि सरकारले इनम सापकोटासँग सम्पर्कमा रहेको प्रमाण भेटिएको भन्दै सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाललाई समेत पदबाट बर्खास्त गरिसकेको थियो।

पछिल्लो समय विवादास्पद व्यक्तिका रूपमा चर्चामा रहेका इनम सापकोटासँग उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध जोडिएका विषय सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठकसमेत प्रभावित हुँदै आएको थियो।

पछिल्लोपटक असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठक त्यसपछि बस्न सकेको थिएन। मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्ने अभ्यास रहे पनि आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै बेला विशेष बैठक बोलाउन सक्ने व्यवस्था छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close