
बारा, १८ पुष । बाराको आदर्श कोतवाल गाउँपालिकाको गाडीको चरम दुरुपयोग भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँपालिकाको नाममा रहेको सरकारी नम्बर प्लेटको गाडी विवाह, ब्रतबन्धदेखि वनभोज लगायतका कार्यमा प्रयोग हुन थालेपछि स्थानीयहरुले चिन्तित हुन थालेका छन् । अध्यक्षले प्रयोग गर्नुसम्म त ठिक थियो, गापा अध्यक्षका छोराले गाडीको दुरुपयोग भएपछि स्थानीयहरु आक्रोसित भएका छन् । गापा अध्यक्षकाका छोराहरु र अन्य वडाध्यक्षका छोरासमेत सरकारी गाडी लिएर वनभोजमा गएको पाइएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।
स्थानीयहरुका अनुसार गाउँपालिकाको गाडीमा गाउँपालिकाका अध्यक्ष चढेर मौजमस्ती तथा वनभोज कार्यक्रममा सरिक हुने गरेका छन् । आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मस्तुफा अंसारीलाई जनताको काममा प्रयोग हुने गरी गाउँपालिकाले प्रदान गरेको प्र २–०३–००१२ नम्बरको स्कार्पियो गाडीमा गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षका छोराहरु वनभोज भेटिएपछि गाउँपालिकामा अध्यक्ष अंसारीको चौतर्फी आलोचना भइरहेको छ ।
घटना हो–अंग्रेजी नयाँ वर्ष २०२१ को दिन, शुक्रबारको । शुक्रबारका दिन, गाउँपालिका अध्यक्ष अन्सारीका छोरा नयाँ वर्ष २०२१ को पिकनिक मनाउन सरकारी गाडी लिएर गएको भेटिए । सरकारी गाडीसहित वडाध्यक्षका छोरा पिकनिक गएको तस्वीरहरु समाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । सामाजिक सन्जालमा भाइरल भईरहेको त्यो तस्वीरमा गापा अध्यक्ष अन्सारीका छोरा गाडीको अगाडिको भागमा बसेर तस्वीर खिचाईरहेको देखिन्छ ।
स्थानीय तह चुनावमा तत्कालिन फोरमबाट विजयी भएका अन्सारीका छोराले आफूसँगै वडा नम्बर ४ का वडा अध्यक्षका छोरा र केही साथीहरुलाई समेत लिएर नयाँ वर्षको पिकनिकमा गएको स्थानीयहरुको भनाई छ । कार्यालयको कामबाहेकमा सरकारी सवारी प्रयोग गर्न नपाइने नियम रहेको भएपनि त्यसको धज्जी उठाउँदै स्थानीय सरकारको गाडी जनप्रतिनिधिका छोराहरुले प्रयोग गरेका छन् ।
स्थानीयहरुका अनुसार गाउँपलिकाका अध्यक्ष मुस्तुफा अंसारीको नेतृत्वमा गाउँपालिकामा चरम भ्रष्टाचार तथा मनपरी बढेको छ । गाउँपालिकाका अध्यक्ष नै यसरी भ्रष्टाचार तथा सरकारी स्रोत साधनको दुरुपयोगमा लिप्त भएपछि स्थानीय अगुवा तथा सचेत नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
गापाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले तस्वीरमा देखिएको गाडी गापा अध्यक्षले प्रयोग गर्ने गरेको भए पनि वनभोज लिएर गएर दुरुपयोग भएको भन्ने सन्दर्भमा आफु अनभिज्ञ रहेकाले तत्काल थप प्रतिक्रिया दिन नसक्ने बताए ।
यता, गापा अध्यक्षलाई सम्पर्क गरे प्रयास गर्दा सम्पर्क हुन सकेन । उनका भाई सबिर अन्सारीले भने गाडी काम विशेषले काठमाडौं गएर फर्किएको बताए ।
तस्वीरमा गाडीसँगै देखिएका वडा नं. ४ का अध्यक्षका छोराको विषयमा बुझ्न खोज्दा वडाध्यक्ष शेख जवाहरले सो फोटो पुरानो रहेको दाबी गरे । गाडी वनभोजमा नगएको दाबी गर्दै उनले पार्किङ्गमा राखिएको बेला फोटो खिचिएको हुन सक्ने बताए । https://nepalpostdaily.com/2021/01/55101/




