
बिरगंज , बैशाख २९ गते बुधबार ।
पर्सा प्रहरीले हुन्डी कारोवारी गर्ने ४ जनालाई अबैध रकम सहित पक्राउ गर्न सफल भएको छ । भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार समेत निम्न ४ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले निगरानी गरिरहेकोमा आज बुधबार दिउँसो १३:०० बजेको समयमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई ऐ.पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– ( पच्चीस लाख) फेला परेको, साथै निज विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७,५०,०००।– ( सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार जिल्ला मोतिहारी पुर्बी चम्पारण थाना रक्सौल वडा न.९ बस्ने बर्ष २२ को गुड्डु कुमार र भारत बिहार जिल्ला मोतिहारी वडा न५ बस्ने बर्ष १८ को साहिल गुप्ता पकाउ परेको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो।