
समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ । समयमा मिल सञ्चालन नहुँदा किसानले ३ वर्ष पुरानो उखु समेत काट्न पाएका छैनन् । पुरानो उखु भएका किसान नयाँ बाली लगाउने तयारीमा रहे पनि पुरानो बाली हटाउन नपाएकाले कुरेर बस्नु परेको छ । ढिलो उखु काट्दा किसानलाई हिउँदे बाली लगाउनसमेत गाह्रो हुने गरेको छ ।
‘धान बाली भित्र्याउने बित्तिकै उखु कटान सुरु हुँदा कृषि मजदुर समेत पर्याप्त पाइन्थ्यो,’ किसान रामहरि प्रसाईं भन्नुहुन्छ, ‘तर, समयमै उखु काट्न नपाउँदा मजदुरसमेत पाइँदैन ।’ समयमै मिल सञ्चालन भए सिजनअनुसार बाली लगाएर किसानले मनग्ये लाभ लिन सक्थे । तर, लामो समय मिल सञ्चालन नहुँदा उनीहरूले तयारी अवस्थामा रहेको उखुसमेत काट्न पाएका छैनन् ।
उद्योगी र किसानबीचको टकरावले किसान र उद्योगी दुवैको हितमा नहुने नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनाली बताउनुहुन्छ । बेला–बेलामा सरकार परिवर्तन भए पनि भुक्तानी लिन वा उखुको मूल्य तोक्नसमेत विभिन्न जिल्लाबाट उखु किसान काठमाडौं धाइरहनुपर्ने बाध्यता निरन्तर दोहोरिरहेको छ । यसर्थ लागतको आधारमा उखुको मूल्य तोक्नतर्फ सरकार र उद्योगीले ध्यान दिन जरुरी छ । साभार ईमेजखबर बाट




