
वीरगञ्जको ईनर्वा नाका भएर ओहोरदोहोर गर्नेहरुको एन्टिजेन परीक्षण भईरहेको छ । अहिलेसम्म ५० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्ठि भईसकेको छ । अँझै यो संख्या दिनानुदिन उकालो लाग्ने क्रम रोकिएको छैन ।
यसअघि भारतीय नागरिकमा मात्रै संक्रमण पुष्ठि हुने गरेकोमा २ दिनयता वीरगञ्जकै नागरिकमासमेत संक्रमण देखिएपछि जोखिम बढेको छ । अहिलेसम्म १ चौथाई मान्छेलाई पनि रोक्न नसकेको वीरगञ्जको ईनर्वास्थित हेल्थ डेस्ककी ईन्चार्ज मेडिकल अधिकृत डा. अनिशा महतोले बताइन् । यात्रा डेलीसँग कुराकानी गर्दै डा. महतोले नाका भएर दैनिक २ हजार जना आवतजावन गर्ने भएपनि अहिले परीक्षण बढीमा ५ सय जनासम्मको हुने गरेको जानकारी दिइन् ।
डा. महतोका अनुसार १ चौथाई यात्रुलाई पनि रोक्न सकिएको छैन । आइतवार ४ सय १३ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्ठि भयो । ति मध्ये १ जना पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डसमेत रहेको डा. महतोले बताइन् । अँझै पनि अवस्था सामान्य रहेको हुँदा अहिलेदेखि नै नाकाबाट आवतजावतमा कडाई गर्नुको विकल्प नरहेको डा. महतोको भनाई छ ।
दैनिक २ हजारको हाराहारीमा आहोरदोहोर गर्ने नाकामा १ वटा मात्रै हेल्थ डेस्क र १२ जना मात्रै कर्मचारी अपर्याप्त भएको बताउँदै डा. महतोले सबैलाई परीक्षण गर्नका लागि थप जनशक्तिसहितको व्यवस्थापन गर्नुपर्ने माग गरीन् ।
अहिले टेस्ट गर्नुका साथै अनलाईन इन्ट्री पनि गर्नुपर्ने भएकाले अँझै ढिलाई हुने गरेको छ । अनलाईन इन्ट्री गर्नका लागि छुट्टै कम्प्युटर अप्रेटरको व्यवस्था भए सहज हुने उनको भनाई छ ।
१४ वर्षदेखि ५० वर्ष उमेर समूह व्यक्तिहरुमा अहिलेसम्म संक्रमण पुष्ठि भएको छ । अधिकांश संक्रमितहरुमा लक्ष्ण देखिएको छैन भने केहीमा सामान्य रुघाखोकी देखिएको छ ।
वीरगञ्ज आसपासका संक्रमितहरुका आफन्तलाई बोलाएर घर पठाउने गरेको बताउँदै डा. महतोले वीरगञ्ज बाहिरका संक्रमितहरुलाई पठाउन समस्या भईरहेको बताइन् । साभार यात्रा डेली बाट




