
बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ । कानुनी रूपमा लिखित तथा ट्रायल परीक्षा पास गरेपछि मात्र लाइसेन्स प्राप्त गर्नुपर्ने प्रावधान भए पनि आर्थिक लेनदेनमार्फत फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स उपलब्ध गराइने गरेको आरोप लागेको छ ।
सूत्रका अनुसार, यातायात व्यवस्था कार्यालय बाराका प्रमुख अविन्दर दास, ट्रायल प्रमुख र कार्यालयका कर्मचारीहरु मिलेर ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई समेत लाइसेन्स वितरण गर्ने गरेको पाइएको छ।
कार्यालयले तोकिएको दररेट अनुसार रकम बुझाउने उम्मेदवारहरूलाई ट्रायलमा पास गराउने, परीक्षाका नतिजा हेरफेर गर्ने तथा निश्चित शुल्क लिई लाइसेन्स प्रदान गर्ने कार्य भइरहेको स्रोतको दाबी रहेको छ ।
कार्यालय प्रमुख अविन्दर दास यसअघि वीरगन्जमा नायब सुब्बा रहँदा नेपालीकरण प्रक्रियामा अनियमितता गरेको आरोपमा उनी अख्तियार बाट निलम्बनमा परेका थिए। उनी रौतहट हुदा पनि लुटतन्त्रलाई निरन्तरता दिएको बताइन्छ ।
उनी बारामा आएपछि पनि त्यस्तै गतिविधि दोहोरिएको आरोप लाग्दै आएको छ ।
यस विषयमा कार्यालय प्रमुख अविन्दर दासले भने आरोपको खण्डन गरेका छन् । उनले कार्यालयमा अहिले सबै काम पारदर्शी रूपमा भइरहेको दाबी गर्दै भने, “रकम लिएर लाइसेन्स वितरण गरेको भन्ने कुरा गलत हो । पछिल्लो समय के भइरहेको थियो, मलाई थाहा छैन । अहिले सेवाग्राहीहरूको काम पारदर्शी रूपमा भइरहेको दासले बताएका छन् ।”
तर, स्थानीय सेवाग्राहीहरू र स्रोतहरूले भने यो दाबीलाई अस्वीकार गर्दै यातायात व्यवस्था कार्यालयमा अनियमितता अझै जारी रहेको बताएका छन्।
सेवाग्राहीहरु मारमा,परेका छन्, छानबिनको माग गर्दै
सेवाग्राहीहरूले यातायात कार्यालयमा पारदर्शिता नरहेको गुनासो गर्दै आएका छन् । कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिकहरू अन्यायमा परेको, तर आर्थिक चलखेल गर्न सक्नेहरू सजिलै लाइसेन्स प्राप्त गरिरहेको आरोप पनि लाग्दै आएको छ ।
यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सर्वसाधारण तथा सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।