२० वर्ष जेल भोगेका बाबु र भ्रष्टाचारका अभियुक्त छोरा माओवादी प्रवेश: छिपहरमाईमा नैतिक प्रश्न

२० वर्ष जेल भोगेका बाबु र भ्रष्टाचारका अभियुक्त छोरा माओवादी प्रवेश: छिपहरमाईमा नैतिक प्रश्न

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकामा आगामी स्थानीय निर्वाचनका लागि अध्यक्ष पदको आकांक्षीका रूपमा चर्चामा रहेका सन्दीप साह कानु आफ्ना बुबा तथा पूर्व गाविस अध्यक्ष गौरीशंकर प्रसाद साह कानुसहित नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ। बाबुको आपराधिक मुद्दामा सजाय भोगेको विगत र छोरासँग जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्दाको पृष्ठभूमिमा भएको यो राजनीतिक प्रवेशले पार्टीको उम्मेदवार छनोट र सार्वजनिक जवाफदेहितासम्बन्धी मापदण्डमाथि प्रश्न उठाएको छ।

काठमाडौंस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। छिपहरमाई गाउँपालिकाका विभिन्न वडाका एमाले नेता तथा कार्यकर्तासमेत सामूहिक रूपमा पार्टी प्रवेश गरेको समाचार सार्वजनिक भएको छ।

तर, यो पार्टी प्रवेश केवल दल परिवर्तनको घटनामा सीमित छैन। यससँगै जोडिएका विगतका कानुनी प्रकरणले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

गौरीशंकर प्रसाद साह कानु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय भोगेर करिब तीन वर्षअघि पर्सा कारागारबाट रिहा भएका व्यक्ति हुन्। कानु सजाय भोगेर रिहा भएपछि पुनः राजनीतिक गतिविधिमा सक्रिय भएका छन्। कानुनी सजाय भोगिसकेको व्यक्तिलाई राजनीतिमा सक्रिय हुने अधिकार भए पनि सार्वजनिक पद र राजनीतिक नेतृत्वको आकांक्षा राख्ने व्यक्तिको विगतबारे नागरिकले प्रश्न उठाउनु अस्वाभाविक होइन।

गौरीशंकरका छोरा सन्दीप साह कानु पोखरिया नगरपालिकाको जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाको प्रमुखका रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नगरपालिकाका विभिन्न आयोजना, ठेक्का तथा सामान खरिद र आपूर्ति प्रक्रियामा अनियमितता गरी ठेकेदार तथा सेवाग्राहीसँग अनधिकृत रूपमा घुस लिएको आरोपमा पक्राउ गरेको विवरण सार्वजनिक भएको छ। अख्तियारले २०८३ असार २५ गते सन्दीप साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो।

सन्दीप साह कानु छिपहरमाई गाउँपालिकाको अध्यक्ष पदका आकांक्षीका रूपमा चर्चामा रहेका बेला उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको तथ्यले राजनीतिक वृत्तमा थप चासो उत्पन्न गरेको छ।

राजनीतिक दलमा प्रवेश गर्नु नागरिकको अधिकार हो। तर आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा सम्बन्धित व्यक्तिको पृष्ठभूमि, सार्वजनिक जिम्मेवारी निर्वाह गर्दाको अभिलेख र कानुनी विवादलाई कसरी मूल्याङ्कन गरिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ।

नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले नवप्रवेशीलाई स्वागत गरेको घटनासँगै पार्टीले स्थानीय तहको नेतृत्वका आकांक्षीहरूको पृष्ठभूमि मूल्याङ्कन गर्न कस्तो प्रक्रिया अपनाउँछ भन्ने प्रश्न उठेको छ।

एकातिर गौरीशंकर प्रसाद साह कानुको कर्तव्य ज्यान मुद्दामा सजाय भोगेको विगत र अर्कोतिर उनका छोरा सन्दीप साह कानुविरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दा सार्वजनिक चासोका विषय हुन्। यी दुवै विषयको कानुनी अवस्था फरक भए पनि राजनीतिक दलले आफ्ना नेता तथा सम्भावित उम्मेदवारसँग सम्बन्धित तथ्यबारे स्पष्ट धारणा राख्नु आवश्यक छ।

अब प्रश्न नेपाली कम्युनिस्ट पार्टीतर्फ छ स्थानीय तहको नेतृत्वका आकांक्षीको पृष्ठभूमि र सार्वजनिक जवाफदेहितालाई उम्मेदवार छनोटको आधार बनाइन्छ कि बनाइँदैन?

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close