
वीरगञ्ज : सामुदायिक संस्था सानो पाइलाले पर्सापछि धनुषामा उपचाररत कोभिड–१९ का बिरामी र क्वारेनटाईनमा बसेका व्यक्तिहरुलाई जेठ १४ गते देखि पौष्टिक खाना उपलब्ध गराउने भएको छ। सानो पाइलाले प्रदेश सरकारको आग्रहमा पर्साकै मोडलमा धनुषामा समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड र सरकारको कार्यविधी अनुसार पौष्टिक खाना उपलब्ध गराउने भएको हो ।
सानो पाइलाका क्षेत्रिय प्रमुख अधिवक्ता राहुलकुमार झाले विविध कारणले गर्दा धनुषामा कोभिड–१९ का बिरामी र क्वारेनटाईनमा बसेका व्यक्तिहरुलाई पौष्टिक खाना खुवाउन समस्या भएकाले आफुहरु अघि सरेको बताए। उनका अनुसार सानो पाइलाले यो अभियानलाई जनकपुरबासी र प्रदेश सरकारको साझा अभियानको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि समुदाय र सरकार दुबैको सहयोग लिइने झाले बताए।
सानो पाइलाले समुदायको सहयोगमा पर्सामा उपचाररत कोभिड–१९ का बिरामीहरुलाई जेठ ५ गते बाट नियमित चार समय पौष्टिक खाना उपलब्ध गराउदै आएको छ। साप्ताहिक रुपमा समुदायको सहयोग र पौष्टिक खानामा भएको खर्च सार्वजनिक गर्दै आएको सानो पाइलाले हालसम्म सरकारी सहयोग नलिएको जनाएको छ।
“सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तब्य हो,” सानो पाइलाका सभापति सुदीप कुमार लामाले भने “हामीले समुदायको सहयोग समुदायसम्म पुर्यौउन साँघुको काम गरिरहेका छौं।” उनका अनुसार प्रदेश सरकारले आर्थिक सहयोगका लागि भनेपनि अहिलेसम्म त्यस विषयमा संस्थाले ठोस निर्णय लिएको छैन्। “यस्ता निर्णय संस्थाको गभर्निङ बोर्डले गर्ने हो,” सभापति लामाले भने, “प्रदेश सरकारको आग्रहमा हामीले धनुषामा सुरुवात गर्न लागेका हौँ। प्रदेश सरकारले हामीलाई आर्थिक सहयोगगर्ने निर्णयको विषयमा दुबै पक्षका प्राविधिक समुह आपसी छलफलमा छौं। औपचारिक जानकारी आएमा हामी त्यो अवसरका विषयमा समेत छलफल गरेर उचित निर्णय यहाँहरू माझ पुर्याउने छौं।”





