म्याग्दी : हिउँ पहिराेमा बेपत्ता छन्त्याल अझै सम्पर्कविहीन

म्याग्दी – गएको बुधवार वर्षासँगै आएको हिउँमा परेर बेपत्ता भएका रामबहादुर छन्त्याल अहिलेसम्म भेटिनुभएको छैन । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाको जङ्गलमा हिउँमा परेर बेपत्ता स्थानीय ५० वर्षीय छन्त्याल अहिलेसम्म नभेटिएका धवलागिरि गाउँपालिकाले जनाएको छ ।

गुर्जाको सुकेलट्टे भन्ने ठाउँमा हिउँमा परेर ५० वर्षीय छन्त्याल बेपत्ता हुनुभएको थियो भने स्थानीय जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो । गएको बिहीवार नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत गुर्जा गाउँबाट चार जना स्थानीयलाई लगेर अलपत्र परेका तीन जनालाई उनीहरुको सहयोगमा सुरक्षित ठाउँमा राखिएको थियो ।

शुक्रवारदेखि बेपत्ता छन्त्यालको खोजीकार्य थालिएको भए पनि अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसकेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । बाक्लो हिमपातका कारण अलपत्र परेका तथा मानव बस्तीभन्दा धेरै टाढाको जङ्गलमा रहेको भेडीगोठमा बस्दै आएका स्थानीयलाई सेनाको हेलिकप्टरबाट खाद्यान्न सामग्री लगिएको थियो ।

हेलिकप्टरबाट गएका चार जना र अलपत्र तीन जना स्थानीय अहिले गाउँ फर्किएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । बेपत्ता छन्त्यालको खोजी गर्नका लागि दैनिकजसो १०/१२ जनादेखि २०/२५ जनाले जङ्गलमा पुगेर खोजी गर्दै आएका छन् । हिउँ नपग्लिँदा खोजी कार्यमा समस्या भएको छ भने गुर्जा गाउँमा तीन/चार फिटसम्म हिउँ जमेको थियो । जङ्गलमा अझै बाक्लो हिउँ जमेका कारण खोजीमा समस्या भइरहेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

वर्षा र हिमपातले गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा समेत बन्द भएकाे थियो । छिमेकी वडा लुलाङबाट गुर्जा गाउँ पुग्नका लागि पूरै एकदिन पैदलयात्रा गर्नुपर्छ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्धार तथा बेपत्ताको खोजी गर्न हेलिकप्टर बोलाइएको थियो । जिल्लाकै विकट तथा दुर्गम मानिने गुर्जा म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढाको दूरीमा रहेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close