
साढे ११ किलो चाँदीका तयारी गरगहनासहित एक जना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चाँदीको गरगहनासहित बिहारको मोतिहारीका सुनिल गुप्तालाई पक्राउ गरेको हो।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित नेपाल टेलिकम चोकबाट गुप्तालाई चाँदीसहित पक्राउ गरेको हो।
ना ३३ प ८५२६ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाइ लुकाइछिपाइ भन्सार छली ल्याएको १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ बराबरको साढे ११ किलो चाँदीको गरहगहना बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।
चाँदीसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थापाले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस



