एनआरएनए एनसीसी अमेरिकाको सचिव पदका लागि सुभाष कुमार बैठाको उम्मेदवारी घोषणा

एनआरएनए एनसीसी अमेरिकाको सचिव पदका लागि सुभाष कुमार बैठाको उम्मेदवारी घोषणा

राहुल गुप्ता
अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी यूएसए) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन नजिकिँदै गर्दा विभिन्न राज्यमा रहेका नेपाली समुदायमा चुनावी सरगर्मी बढेको छ। यसै सन्दर्भमा पेन्सलभेनियाबासी समाजसेवी सुभाष कुमार बैठाले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उहाँले सत्येन्द्र साहको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिंदै नेपाली समुदायको साथ, सहयोग र समर्थनका लागि अपील गर्नुभएको छ। बैठा विगत लामो समयदेखि एनआरएनए तथा अन्य सामाजिक संघसंस्थाहरूमा सक्रिय रहँदै आएका अनुभवी नेतृत्वकर्ता हुन्।

उहाँले पेन्सलभेनियाको एनआरएनए एनसीसी फोकल पर्सन तथा संस्थापक अध्यक्षको भूमिका निभाइसक्नुका साथै विभिन्न उपसमितिहरूमा नेतृत्वदायी भूमिकामा रही उल्लेखनीय कार्य गर्दै आउनुभएको छ।

उम्मेदवारी घोषणासँगै बैठाले एक समावेशी, पारदर्शी र सहभागी नेतृत्वको खाका प्रस्तुत गर्दै एनआरएनएलाई गुटगत सोचभन्दा माथि उठाएर सम्पूर्ण नेपालीको साझा संस्था बनाउनुपर्नेमा जोड दिनुभएको छ।

“एनआरएनए केवल केही समुदाय र व्यक्तिको संस्था होइन, यो विश्वभर रहेका सबै नेपालीहरूको साझा पहिचान हो,” बैठाले भन्नुभयो। “अब सबैको आवाज, सहभागिता र पारदर्शिता अनिवार्य छ।”

उहाँले अमेरिकाभर रहेका अग्रज, युवा, महिला तथा समुदायप्रेमी शुभेच्छुकहरूलाई लक्षित गर्दै समर्थनको अपील गर्दै थप्नुभयो, “तपाईंहरूको अमूल्य सुझाव, निरन्तर सहयोग र समर्थनले मलाई अघि बढ्ने हौसला दिनेछ।”

उहाँले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको आकांक्षा नभई एनआरएनएमा लामो समयदेखि हासिल गरेको अनुभव र प्रतिबद्धताबाट सकारात्मक रूपान्तरण ल्याउने अवसरको रूपमा लिन आग्रह गर्नुभयो।

बैठाले वर्तमान समयमा एनआरएनएभित्र देखिएको गुटबन्दी र नेतृत्वको सिमितता प्रती संकेत गर्दै समावेशी नेतृत्वको खाँचो औँल्याउँदै भन्नुभयो, “एकता अब विकल्प होइन, अपरिहार्य आवश्यकता हो।”

अन्तमा उहाँले सत्येन्द्र साहको नेतृत्वमा रहेको प्यानललाई समर्थन गर्न सम्पूर्ण मतदातालाई अनुरोध गर्दै नेपाली डायस्पोराको समृद्धि, पहिचान संरक्षण र सामाजिक समावेशीताका लागि साझा उद्देश्यसहित अघि बढ्ने दृढ संकल्प व्यक्त गर्नुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close