
काठमाडौँ । श्रीलंकाको अदालत परिसरमै चर्चित भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्या प्रकरणमा संलग्न ६ जना अभियुक्त नेपालमा लुकेर बस्दै आएको खुलेको छ ।
नेपाल प्रहरी र श्रीलंकन प्रहरीबीचको समन्वयमा गरिएको विशेष अपरेसनमार्फत उनीहरूलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा श्रीलंकाका नागरिक इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) रहेका छन् । ती सबै श्रीलंकाको कुख्यात केहेलबड्डरा पद्ये समूहका सदस्य हुन्, जसले मलेसिया र दुबईबाट संगठित अपराध सञ्जाल सञ्चालन गर्दै आएको बताइन्छ ।मुख्य अभियुक्त इसारा सेउबन्दीले ७ फागुन २०८० मा कोलम्बोस्थित हल्फ्सडोर्प अदालत परिसरमा गणेमुल्लाको हत्या गर्न सहयोग गरेकी थिइन् । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो ।
श्रीलंकन प्रहरीको जानकारीपछि काठमाडौंस्थित श्रीलंकन दूतावासले नेपाल प्रहरीसँग समन्वय मागेको थियो । त्यसपछि इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो नक्सालबाट प्रहरी टोली परिचालित भई अपरेसन सुरु गरिएको थियो ।
स्रोतका अनुसार इसारा सेउबन्दीले भक्तपुरमा भारतीय नागरिकका रूपमा भाडामा कोठा लिएर बस्दै आएकी थिइन् । उनले घरबेटीलाई आफू भारतको बैंग्लोरकी भएको भन्दै झुक्याएकी थिइन् ।
अनुसन्धानका क्रममा ठमेलस्थित एक होटलबाट श्रीलंकाको चर्चित गुन्डा नाइके केनेडी बस्टिम्पिल्लै (जेके बाई) पक्राउ परे ।
उनको विवरणका आधारमा प्रहरी सेउबन्दीसम्म पुग्न सफल भयो । जीवथासन र ठाक्सी नन्थाकुमारलाई भने नयाँ बसपार्क र मित्रपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।
नेपालमा उनीहरूले कुनै आपराधिक गतिविधि नगरेका कारण अध्यागमन विभागसँग समन्वय गरी डिपोर्ट प्रक्रिया अघि बढाइएको छ ।