रामबाबु गुप्ता गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यमा मनोनित

अमेरिका — गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को महत्वपूर्ण पदमा अमेरिकामा बसोबास गर्दै आएका रामबाबु गुप्ता मनोनित भएका छन्। एनआरएनएका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा बसेको हालैको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गुप्ताको दीर्घकालीन योगदान, नेतृत्व क्षमता तथा समुदायप्रतिको सक्रिय भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उनलाई आईसीसी सदस्यका रूपमा मनोनयन गरेको हो।

वीरगञ्ज, पर्सामा जन्म–उपनिवेश भएका गुप्ता लामो समयदेखि अमेरिकाको टेक्सास राज्यको केलर सहरमा बस्दै आएका छन्। उनले प्रवासी नेपाली समुदायबीच सशक्त प्रतिनिधित्व गर्दै आएका छन्। गुप्ता अमेरिका मधेशी समाज टेक्सासका अध्यक्षको भूमिकामा रहेर विभिन्न सामुदायिक कार्यक्रम, सांस्कृतिक संरक्षण, आपतकालीन सहयोग तथा सामाजिक सञ्जाल विस्तारमा महत्वपूर्ण पहल गर्दै आएका छन्।

एनआरएनएमा लामो समयदेखि सक्रिय गुप्ताले यसअघि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिका अन्तर्गत बोर्ड अफ डाइरेक्टरको रूपमा कार्यसम्पादन गरेका थिए। आफ़नो कार्यकालमा संस्थागत पारदर्शिता, सदस्य बीचको समन्वय वृद्धि तथा समुदायलाई समेट्ने कार्यक्रम प्रर्वद्धनमा उल्लेखनीय भूमिका रहेको सहकर्मीहरू बताउँछन्।

आईसीसी सदस्यका रूपमा गुप्ताले विश्वभर फैलिएका नेपाली समुदायका मुद्दा, हित, अवसर तथा चुनौतीलाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, समुदायको आर्थिक, सामाजिक र शैक्षिक उत्थानका लागि उनले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ।

मनोनयनपछि प्रतिक्रिया दिँदै गुप्ताले जिम्मेवारीलाई अवसर र चुनौती दुवैको रूपमा लिने बताए। “प्रवासी नेपाली समुदायको हितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छु। विश्वभरका नेपालीबीच सहकार्य, एकता र पहिचान मजबुत बनाउनेतर्फ हाम्रो प्राथमिकता हुनेछ,” उनले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close