
पत्रकारमाथि पर्सा प्रहरीको दुर्व्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् । प्रहरीले सञ्चारकर्मी तथा पत्रकारहरुलाई ज्यादति गर्न थालेपछि पत्रकार महासंघ प्रदेश न.२ तथा पर्सा शाखाका पदाधिकारीहरुको उपस्थितीमा विरोध जनाइएको छ ।
सामुदायिक रेडियो नारायणी एफ एम तथा नयाँ पत्रिकाका पर्सा जिल्ला संवाददाता तिवारी यादबलाई आइतबार पर्सा प्रहरीले बिनाकारण पक्राउ गरी ५ घण्टा पछी छोडेको थियो ।यस्तै एक साता अघि पनि पर्सा प्रहरीले तीन जना पत्रकारलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको आरोप लगाउँदै नियन्त्रणमा लिएको थियो ।वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार यादवसंग दुव्र्यवहार गर्नुका साथै नियन्त्रणमा लिएको हो । विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले लकडाउनको पालन गराउने नाउँमा पर्सामा प्रहरीको ज्यादती बढिरहेको आरोप लगाए । समाजका क्रिम फिगर रहेका व्यक्तिहरूलाई प्रहरीले निशाना बनाएर अमानवीय व्यवहार देखाएको उनले आरोप लगाए ।
महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले दोषी प्रहरीमाथि कार्यवाही नभएसम्म पत्रकारहरूको आन्दोलन नरोकिने बताए ।
कोरोना भाईरस महामारीबाट लड्न अग्रपंतीमा खटिरहेको डाक्टर, बैकंकर्मी, औषधि व्यवसायी र पत्रकारलाई लकडाउनको पालना गराउने नाममा बारम्बार प्रहरीबाट दुरव्यवहारको शिकार भईरहेको भन्दै प्रहरीको गलत रवैयाको विरुद्धमा आन्दोलनमा उत्रिनु परेको बताए ।घण्टाघरमा आयोजित धर्ना कार्यक्रममा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस युनियन ,आदिवासी जनजाति पत्रकार संघ लगाएत विभिन्न संघ संगठनहरुले समर्थन जनाएका थिए । वीरगन्जको लिंकरोडस्थित नारायणी एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो ।