
काठमाण्डू, गायिका पूजन काफ्लेको शब्द, संगीत तथा स्वर रहेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा पारेर गायिका काफ्लेले सोमबार गीत ल्याएकी हुन् ।
बिद्यालय सञ्चालिका समेच रहेकी काफ्लेको गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ ।
गीतमा गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ ।
तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शीला गजुरेल, संस्कृति भुजेल र एलीजा काफ्लेको नृत्य छ ।
गायिका काफ्लेले यस अधि पनि तीज गीत बजारमा ल्याएकी थिइन ।
तीजमा दोहोरी गीत कि रत्यौली गीत भन्ने कुरा अहिले बजारमा जताततै यस्तै सुनिन्छ । तीजका मौलिक गीतहरु बजारमा पाइँदैनन् ।
पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप भएको छ ।
मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्नेजस्तो भइसकेको छ ।
रत्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको भान हुन थालेको छ भने अर्कातर्फ तीजका नाममा तीज आउनुभन्दा महिनौं अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन् ।
तर, तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो छ । तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आएको छ ।
तीजको गीतमा यसरी विकृति फैलनुमा सञ्चारमाध्यमकै हात र कमजोरी पनि देखिन्छ । जस्तो पायो त्यस्तो गीतलाई प्राथमिकता दिँदा पनि समस्या आएको छ ।
तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका छन् । यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन् । त्यसैले पनि विकृति थप मौलाएको छ ।
पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ । संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन् ।
प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला । तर, यही कारणले संस्कृति मास्न हुँदैन ।
यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ । निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाऊलान्, सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएको देखिएको छ ।
यतिखेर सबैतिर तीजको रमाइलो छ । तर, नेपाली चेलीको प्रमुख चाड तीजको आफ्नै धार्मिक मान्यता र सांस्कृतिक परम्परा रहेपनि पछिल्ला दिनमा त्यसतर्फ भन्दा अन्यत्र ध्यान जान थालेकाले यी पक्ष ओझेलमा पर्दै गई विकृति र विसंगतिको बोलबाला बढ्दै गएको अनुभूति हुन थालेको छ।
गीत ल्याउन प्रतिस्पर्धा नै हुन्छ । तर, गीतमा जे जस्ता शब्द समेटिएका हुन्छ जुन कुरालाई इंगित गर्न खोजिएको हुन्छ, त्यो लुकाएर, घुमाएर वा सभ्य र शिष्ट शैलीमा होइन, सिधै भन्न थालिएका कारण अहिलेका तीजे गीत उच्छृङ्खल, अशिष्ट र अमर्यादित बन्दै गएका छन्।
तीज पर्वको आफ्नै धार्मिक विश्वास एवं सांस्कृतिक—सामाजिक मान्यता र महत्त्व छ।
यस चाडमा महिलाले आफ्ना दैनिक भोगाई र पीडालाई गीतका रूपमा व्यक्त गर्ने अवसरका रूपमा उपयोग गर्ने पुरानो मान्यता र प्रचलन हो।
यस अवसरमा आफूले भोग्नुपरेका पीडा र बुहार्तन अनि घरौंले र पतिका आनीवानी र व्यवहारमात्र होइन, आफ्ना सुख, सुविधा र सम्पन्नताका पक्ष पनि महिलाले गीतका माध्यमद्वारा सार्वजनिक गर्ने गर्छन्।
यसरी तीजका गीतको आफ्नै मूल्य र मान्यता छ। समयसँगै यसमा सामान्य परिवर्तन आउनु स्वाभाविक हो । तर, यसलाई विकृत बनाउने जुन होड चलेको छ, त्यो भने दुर्भाग्यपूर्ण छ।
तीजका नाममा बजारमा आएका छाडा गीतका कारण बदनाम भएको तीजलाई काफ्लेको गीलले केही खुसि बनाएको छ ।




