
काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन् ।
मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले थोरै जनाबाट धेरै दरमा कर उठाउने नभई धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना माग गरेका हुन् । मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मेहेनत गर्नु पर्नेमा जोड दिएका छन् ।
शर्माले ‘यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ, त्यो मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजस्व संकलनको लक्ष्य पूरा गर्न सकिँदैन, ‘करदातामैत्री नीति कार्यान्वयन हुनुपर्यो´भनेका छन् ।
उनले प्रशासनिक झञ्झट हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । कर तिर्न करदाताले वाक्क लाग्दो झञ्झट व्यहोर्नु परेको सुन्नमा आएको भन्दै यो अवस्था हटाउन आग्रह गरे ।
कर प्रशासनलाई करदातामैत्री बनाउनमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राखे । विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ रहेको छ ।
ब्रिफिङको क्रममा मंगलवार राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका छन् ।