
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको साञ्जेन जलविद्युत् आयोजनाको ८३ प्रतिशत काम पूरा भएको छ । आयोजनाले अहिले बाँध, सुरुङ र विद्युत् गृहको काम एकसाथ गरिरहेको छ ।
बाँध क्षेत्रको इन्टेक, डिसेन्डर लगायतको निर्माण कार्य ९२ प्रतिशत पूरा भएको छ । आयोजनाको तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङको निर्माण सम्पन्न गरेर सर्पोटको काम गरिरहेको छ । विद्युत् गृहको सिभिल संरचनाको काम सम्पन्न गरी पर्खालको ढलानको काम भइरहेको आयोजनाले जनाएको छ ।
इलेक्ट्रोमेकानिकलतर्फ उपकरण डिजाइन, जडान र आयातको काम भइरहेको छ । यसको काम ६० प्रतिशत पूरा भएको छ । कोभिड–१९ का कारण सामग्री समयमा नै आयात गर्न नपाउँदा जडानको काम ढिलो हुन पुगेको हो ।
आयोजनाको हाइड्रोमेकानिलतर्फ ७९ प्रतिशत काम पूरा भएको छ । यसमा कनेक्टिङ पाइप, साइफोन पाइप, इन्टेक गेट लगायतका काम पूरा भएको छ । आयोजनाले अबको १० महिनामा उत्पादन सुरु गर्नेगरी काम गरिरहेको छ । प्रसारण लाइन निर्माण अन्तर्गत ५.९ किलोमिटरमा पर्ने २० वटा टावर निर्माण कार्य सकिएको छ ।
उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हबमा गएर जोडिने छ । आयोजनाहरूबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ ।
४२.५ मेगावाट क्षमताको आयोजनाको निर्माणकार्य २०६९ सालदेखि सुरु भएको थियो । एसईडब्ल्यू टुन्डी जेभीले निर्माण गरिरहेको छ । सिभिलमा एसईडब्ल्यू टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।
भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापर्बाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । यो आयोजना निर्माणका लागि ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।