
पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १६७ जनाको उम्मेदवारी दर्ता भएकोमा ८७ जना स्वतन्त्र उम्मेदवार छन् ।

पर्सा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको लागि २३ जनाले उम्मेदवारी दिएका छन्, जसमा स्वतन्त्र उम्मेदवार १२ जना छन् । यसैगरी, प्रदेशसभा सदस्यको लागि क्षेत्र नं १ को (क)मा १८ जनाको उम्मेदवारी परेकामा १२ जना स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नं १ को (ख)मा २१ जनाको उम्मेदवारी परेकामा १३ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । यसैगरी, क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको लागि ११ जनाको उम्मेदवारी परेको र त्यसमध्ये तीनजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत सुशील देवकोटाले बताए । क्षेत्र नं २ को (क)मा नौजनाको उम्मेदवारी परेकामा पाँचजना स्वतन्त्र र (ख)मा १४ जनाको उम्मेदवारी परेकामा नौजना स्वतन्त्र उम्मेदवार रहेको अधिकृत देवकोटाले जानकारी गराए ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँचजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए । यो क्षेत्रको (क)मा १३ जना उम्मेदवारमध्ये आठजना स्वतन्त्र र (ख)बाट १४ जना उम्मेदवारमध्ये आठजना स्वतन्त्र उम्मेदवार रहेको अधिकृत ढकालले बताए ।
यसैगरी, क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ भने पाँचजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए । यो क्षेत्रको (क)बाट १० जना उम्मेदवारमध्ये तीनजना स्वतन्त्र र (ख)बाट ११ जना उम्मेदवारमध्ये पाँचजना स्वतन्त्र छन् ।
पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् भने नेकपा–जसपा गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । यो क्ष्Fेत्रबाट नेपाली काङ्ग्रेसका पूर्वसभापति अजयकुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ को (क)बाट सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रहबर अन्सारीले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने जसपा–एमालेबाट एमालेका विचारी यादव उम्मेदवार छन् । यसैगरी, (ख)बाट सत्तारूढ गठबन्धनका रामनारायण कुर्मी उम्मेदवार छन् भने जसपा–एमाले गठबन्धनबाट जसपाका लालबाबूराउत गद्दी उम्मेदवार छन् ।
क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकाका अजयकुमार चौरसिया उम्मेदवार छन् भने यो क्षेत्रमा प्रदेशसभा सदस्यमा (क)बाट नेकाका श्याम पटेल र (ख)बाट लोसपाका रमेश कुर्मी उम्मेदवार छन् । यसैगरी, जसपा–एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी प्रतिनिधिसभामा र प्रदेशसभामा (क)बाट जसपाका रामनरेश यादव र (ख)बाट एमालेका हरेराम पटेल उम्मेदवार छन् ।
क्षेत्र नं ३ मा सत्तारूढ गठबन्धनबाट प्रतिनिधिसभामा नेकाका सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन् भने क्ष्Fेत्र नं ३ को (क)बाट माओवादीका छोटेलाल प्रसाद र (ख)बाट नेकाका जनार्दनसिंह क्षत्री उम्मेदवार छन् । सोही क्षेत्रको (ख)बाट सत्तारूढ गठबन्धनका नेकपा (एस)बाट प्रह्लाद गिरीको उम्मेदवारी पनि परेको छ । नेकाका सभापतिसमेत रहेका क्षत्रीले गठबन्धनबाट आफ्नो उम्मेदवारी आधिकारिक भएको दाबी गरेका छन् ।
क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा गठबन्धनबाट नेकाका रमेश रिजालको उम्मेदवारी परेको छ । यो क्षेत्रबाट प्रदेशसभा (क)मा सत्तारूढ गठबन्धनबाट नेकाका शङ्करप्रसाद चौधरी र (ख)बाट माओवादीकी शेख चाँदताराको उम्मेदवारी परेको छ ।

जसपा–एमाले गठबन्धनबाट भने प्रतिनिधिसभामा जालीम मियाँको उम्मेदवारी परेको छ भने (क)बाट प्रदेशसभामा जयप्रकाश थारू र (ख)बाट जसपाका सिंहासन साह कलवारको उम्मेदवारी परेको छ । eprateek




