
पर्सामा गठबन्धनविरुद्ध बागी उम्मेदवारको सङ्ख्यामा वृद्धि भएपछि अहिले गठबन्धनको नेतृत्व गर्ने नेताहरू समस्यामा परेका छन् ।
हिजो मात्र नेकपा एमाले तथा जसपा गठबन्धनको बैठकमा बागी उम्मेदवारहरूलाई कसरी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल भएको थियो ।
स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता नलिए गठबन्धनको औचित्य नै समाप्त हुने निष्कर्षमा नेताहरू पुगेको बैठकमा सहभागी एकजनाले बताए ।
बैठकमा गठबन्धनमा सबैभन्दा बढी जसपाबाट बागी उम्मेदवार भएपछि उनीहरूलाई फिर्ता बोलाउने र नमाने कारबाई गरी पार्टीबाट निष्कासन गर्ने सहमति भएको थियो ।
नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपालगायत अन्य दलबीचको गठबन्धनको बैठक पर्सामा बस्न सहमति नभएपछि गठबन्धनको बैठक अन्योलमा परेको छ ।
सत्तारूढ गठबन्धनमा सबैभन्दा बढी नेपाली काङ्ग्रेसका नेताहरूले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
मज्जाको कुरा के छ भने पर्सामा प्रतिस्पर्धामा रहेका दुवै गठबन्धनमा बागी उम्मेदवार बनेका नेताहरू आआफ्नो पार्टीविरुद्ध उम्मेदवारी नदिई गठबन्धनभित्र रहेका अन्य पार्टीका उम्मेदवारविरुद्ध बागी बनेपछि पर्सामा गठबन्धनको औचित्य समाप्त भएको बताइन्छ ।
एकजना नेताका अनुसार ती नेताहरूले शक्तिको आडमा गठबन्धन बनाएको तथा उनीहरू नै बागी बनेपछि सोचनीय विषय भएको बताए ।
पर्सामा दुई गठबन्धन एकापसविरुद्ध उत्रेपछि गठबन्धनका बागी उम्मेदवारहरू अजयकुमार द्विवेदी, सुधीर पटेल, चन्द्रकिशोर चौधरी, करिमा बेगम, जरी लामा, जन्नत अन्सारी, रूपेशमान सिंह, मुकेश द्विवेदी, प्रमोद जयसवाललाई फिर्ता बोलाउन अहिले चुनौती थपिएको छ । भोलिसम्म नाम फिर्ता लिएनन् भने गठबन्धनमा विवाद हुने निश्चित छ ।
बागी उम्मेदवारको कारण जित्ने उम्मेदवार हार्न सक्ने भएकोले विवाद हुन सक्ने बताइन्छ । eprateeek




