
१० तारिखमा उद्घाटन हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सम्बोधन गर्न जाने भन्ने भए पनि अहिलेसम्म जाने टिम र मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
पछिल्लोपटक गएको असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म निजी सचिवालयलाई पूर्णता दिनुभएको छैन । प्रधानमन्त्री देउवाका राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार तथा प्रेस सल्लाहकारसहितका व्यक्तिको नियुक्ति नहुँदा औपचारिक सूचना निजी सचिवालयबाट पनि सार्वजनिक भएको छैन ।
प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवा २५ गते यहाँबाट नयाँ दिल्ली ‘ट्रान्जिट’ बनाएर सिधै गुजरातको अहमदावाद पुग्ने कार्यक्तम रहेको छ । त्यहाँ उहाँले ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग उहाँको औपचारिक भेटवार्ता पनि गुजरातमै हुनेछ । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।




