
आगामी मङ्सिर ४ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँड गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनदलहरूबीच नै चर्को विवाद देखिएको छ । जसका कारण ठाउँ–ठाउँमा सत्ता गठबन्धन दलहरूले गठबन्धन तोडेर एउटै क्षेत्रमा एक अर्काविरुद्ध उम्मेदवारी दिइएको पाइएको
छ ।
पर्साको निर्वाचन क्षेत्र नं ३ को (ख) सत्ता गठबन्धन दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धनबीचको सहमति तोडेर उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनबीच भएको सहमतिमा पर्सा ३ को (ख)मा नेपाली काङ्ग्रेस/एकीकृत समाजवादी उल्लेख गरी सहमति भएको थियो । जसको मतलब दुवैमध्ये एक दलले उम्मेदवार उठाउनुपर्ने हो । तर दुवै दलले आआफ्नो उम्मेदवार उठाएका छन् ।
काङ्ग्रेसबाट जिल्ला सभापति जनार्दनसिंह क्षत्री र त्यही क्षेत्रमा गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका प्रह्लाद गिरीले पनि उम्मेदवारी दर्ता गराए । काङ्ग्रेस उम्मेदवार क्षत्रीले सत्तF गठबन्धनको आधिकारिक र साझा उम्मेदवार आफू नै भएको दाबी गर्दै आएका छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार गिरीले पनि गठबन्धनको आधिकारिक उम्मेदवार आफू भएको जिकिर गरे । २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित भएका गिरी, लोसपा हुँदै केही महीनाअघि मात्रै एमालेमा प्रवेश गरेका थिए तर एमालेले उम्मेदवार नबनाएपछि गिरी अन्तिम समयमा नेकपा (एस) प्रवेश गरी टिकट हात पारेका थिए । अहिले दुवैले एकअर्कालाई गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै चुनावमा सघाउन अपील गरिरहेका छन् ।
यस विषयमा नेकपा (एस)का नेता मनोज चौधरीले गिरीले पाएको टिकट नै आधिकारिक भएको दाबी गरे । तर नेकाका सभापतिसमेत रहेका क्षत्रीले आफ्नो टिकट आधिकारिक भएको बताएका छन् । उनले गठबन्धनको निर्णयबाट आफूले टिकट पाएको र यसविरुद्ध कसैले आधिकारिकता दाबी गर्न नमिल्ने बताए ।
पर्सामा नेपाली काङ्ग्रेसले तीनवटा सङ्घ, चारवटा प्रदेश, माओवादी केन्द्रले तीनवटा क्षेत्रमा प्रदेशसभा सदस्यको टिकट पाएको तर आफ्नो पार्टीले पर्सामा एउटा मात्र सिटमा टिकट पाएको भन्दै काङ्ग्रेसले दाबी गर्नु बेठीक रहेको नेता चौधरीले बताए । आधिकारिकताको विषयमा गठबन्धनको बैठकमा छलफल हुने उनले प्रस्ट्याए । eprateek




