
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुङ्गानाले भेरी नगरपालिका ४,भएको घटना प्रती कार्यवाही को माग गरे का छ
रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ ।
तैपनि उर्मिला निराश थिइनन् । तामाका मुनाजस्ता चार छोरोछोरी थिए । उनीहरूको अनुहार हेरेर उनी आफ्नो दुःख बिर्सन्थिन् । र, पतिको स्याहारमा अविराम जुट्थिन् । जेठी छोरीको विवाह भइसकेको थियो । तीन सन्तानले पनि बाटो खोजिरहेकाले उनीहरूको भविष्यप्रति निश्चिन्त थिइन् । बरु पतिकै चिन्ताले हमेसा पिरोलिरहन्थ्यो ।
गत पुस १२ गते हुनुपर्छ, सावाँ अक्षर खुट्याउन नसक्ने उर्मिलालाई तिथिमिति ठ्याक्कै याद छैन । यति भन्न सक्छिन् । आकाश निकै धुम्मिएको थियो । पानी पर्लापर्लाजस्तो भएको थियो । दिउँसोपख एक युवती आइन् ।छोरो नवराज पनि सँगै आएकाले ‘साथी होला नि’ भन्ठानेर सोधीखोजी पनि गरिनन् ।
छोरोसँग आएकी थिई अन्यथा के सोच्नु !,” उनी बाह्रखरीसँग कुराकानीमा त्यो दिन सम्झने कोसिस गर्छिन्, “आफ्नो छोरो भनेर होइन, गाउँमा उसको बेग्लै मान थियो । उसका साथीहरू पनि थुप्रै थिए । ती सबै घरमा आउजाउ गर्थे । केटी साथी पनि थपिई छ क्यारे ठान्यौं ।”पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा घर रहेछ उनको । मल्ल थरकी किशोरी रहिछन् ।आफूभन्दा माथ्लो जातको केटी भन्ने थाहा पाएपछि मलाई असाध्यै डर लाग्यो,” उनी भन्छिन्, “गाउँलेले के भन्लान् ठानेँ र छोरालाई एकान्तमा बोलाएर ‘उसकै घर पुर्याइदे, घर ल्याउनुहुन्न क्या बाबु’ भनेँ ।”
माथ्लो जातको केटी ल्याएको थाहा पाएपछि छोरालाई दुई हातै जोडेर बिन्ती गरेको उर्मिला बताउँछिन् । तर छोराले टेरेनन् । “बरु दुईचार दिन यतै बस्छिन् । तपाईंलाई सघाउँछिन् भन्न थाल्यो । मलाई धेरै डर लाग्यो । छोरालाई हप्काइदप्काइ पनि गर्न सकिनँ,” उनी थकथकी मान्दै सुनाउँछिन् ।
त्यसपछि नवराजको चौरजहारी जाने क्रम बाक्लियो । खेल्नमा असाध्यै रुचि राख्थे । भलिबल, फुटबल आदि खेल्थे । त्यो बहानामा उनी चौरजहारी गइरहन्थे । खेल्ने क्रममै उनका बग्रेल्ती साथी थिए ।




