

बहुमुखी क्याम्पसमा अध्ययनरत बिआईटी (BIT) सातौँ सेमेस्टरका विद्यार्थीहरूले “टेक कन्कलेभ” कार्यक्रम अन्तर्गत १२ वटा टोलीमा विभाजन भई आफ्नै सिर्जनशीलतामा आधारित सफ्टवेयर तयार गरी प्रदर्शनी गरेका छन्। प्रदर्शनीमार्फत विद्यार्थीहरूले सिकेका सीपहरूलाई व्यवहारिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराएका थिए।

कार्यक्रममा, हाल तराई क्षेत्रमा बढ्दो बेरोजगारीलाई प्रविधिसँग कसरी जोडेर रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ तथा बेरोजगारी न्यूनीकरणमा यस्ता प्रविधिहरूको कस्तो महत्व हुन्छ भन्ने विषयमा समेत प्रष्ट पारिएको थियो। ठाकुरराम बहुमुखी क्याम्पसका शिक्षक आलोक चौरसियाले प्रविधि र प्राविधिक ज्ञानसँगै अगाडि बढ्नु आजको अत्यावश्यक आवश्यकता भएको बताए।

उनका अनुसार, विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले पहिलोपटक बिआईटी सातौँ सेमेस्टरका विद्यार्थीहरूले आफ्नै अथक प्रयासमार्फत विभिन्न किसिमका सफ्टवेयर तयार गरी प्रदर्शनी गरेका हुन्। “उच्च शिक्षा मात्र हासिल गरेर पुग्दैन, व्यवहारिक ज्ञान र प्रविधिको आत्मनिर्माणमार्फत अघि बढ्नु नै ठूलो उपलब्धि हो,” उनले जोड दिए।

बिआईटीका निर्देशक संजय कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिकमका पुरन साह, क्वाल्टो सफ्टका निर्देशक संजय सक्सेना, वर्ल्डलिङका सुमेधा सरार्फ, डाइनामिक टेक्नोसफ्टका कृष्ण कुशवाहा, क्लासिकटेकका बृजेश प्रधान, स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादव, स्वतन्त्र विद्यार्थी युनियनका अंकित पटेल,अमित पटेल तथा अन्य सदस्यहरू, BIT का शिक्षक सन्तोष साह, बसन्त ओझा, श्याम गुप्ता, कौशल साह, आलोक चौरसिया, संजय सक्सेना, विनोद साह तथा अन्य शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






