एसईई खारेज गर्न र पठनपाठन सुरु गर्ने योजना ल्याउन सांसद र शिक्षाविद्हरूको सुझाव

एसईई खारेज गर्न र पठनपाठन सुरु गर्ने योजना ल्याउन सांसद र शिक्षाविद्हरूको सुझा

शिक्षा मन्त्रालयमाथि आशंका
काठमाडौँ — शिक्षा मन्त्रालयले एसईईको विकल्प नखोजेकोमा सांसद र शिक्षाविद्हरूले आशंका व्यक्त गरेका छन् । संसदीय समितिको बैठकमा सांसद र शिक्षाविद्हरूले कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्यांकन र कक्षा १२ को परीक्षा राष्ट्रिय तहमा गर्नुपर्ने तयारीमा लाग्न छोडेर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जसरी पनि गर्ने अड्डि लिएकोमा आंशका व्यक्त गरेका हुन् ।

कोरोना भाइरस (कोभिड-१९)को कारण एसईई, कक्षा ११ र १२ को परीक्षा स्थगित भएको अवस्थाबारे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्त्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबारको बैठकमा सांसद र शिक्षाविद्हरूले परीक्षाको विकल्प खोज्न तथा विद्यालय स्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताएका हुन् ।
कोरोनाको कारण गत चैत पहिलो सातायता सबै तहको पठनपाठन स्थगित छ । सबै तहका परीक्षाहरू रद्द गरिएका छन् । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।

त्यसैगरी एसईईको परीक्षा स्थगित गर्न र पठनपाठन सञ्चालन गर्ने वातावरण निर्माण गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यार्थीहरूलाई पालैपालो सिफ्ट बनाएर विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाई सूचारु गर्नुपर्ने बताए । उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठीन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए । उनले विद्यालयलाई निर्मलीकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटर गनको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लगायतका काम गरेर पठनपाठन सुचारु गर्न सुझाव दिएका हुन् । उनले भने, ‘कोरोना भाइरसले चुनौतीसँगै अवसर पनि दिएको छ । आगामी दिनमा शिक्षामा प्रविधिको पनि व्यापक प्रयोग गर्ने अवसर छ ।’

लकडाउनमा केही विद्यालयहरूले अनलाइनबाट पढाइ सुरु गरेका छन् । तर सबै विद्यार्थीहरूमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरूले बताएका छन् । सरकारले टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्न पर्नेमा विज्ञहरूले सुझाव दिएका हुन् । शिक्षाविद् विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठीन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए । ‘जसरी हुन्छ कक्षा संचालन गर्नुस् भन्ने निर्देशन संसदीय समितिले दिनुपर्छ,’ उनले भने ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए । उनले सरकारले प्रविधिको विकासका लागि स्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्नेगरी योजना ल्याउनुपर्ने सुझाव दिए ।

नेकपा सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए । उनले एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताइन् । उनले एसईई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थसमेत लुकेको हुनसक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताइन् । सबै विद्यालय र विद्यार्थीमा अनलाइन कक्षा मार्फत पढाउन सक्ने र पढ्न सक्ने सुविधा नरहेको अवस्थालाई मध्यनजर गरेर कक्षा संचालनको मोडालिटी ल्याउनुपर्ने उनको माग थियो ।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था लामो समयसम्म गयो भने विद्यालय कहिलेसम्म बन्द गर्ने भन्ने प्रश्न गरेका थिए । उनले लामो समय विद्यालय बन्द हुने, अनलाइन पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘विद्यालय के सोचिरहेको छ ? के गरेर बसिरहेको छ भन्ने कुरा समितिमा स्पष्ट भएपछि बाँकी छलफल गर्नुपर्छ,’ उनले भने ।

गत चैत ११ गते देखि लकडाउन भएपछि एसईईको परीक्षा स्थागित भएको छ । लकडाउनका कारण विद्यालयहरू सञ्चालनमा आउन पनि सकेका छैनन् । यस्तै लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिम देखिने अवस्थामा विद्यालय शिक्षामा असर पर्ने पक्का छ । किनभने अधिकांश विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ । जसले गर्दा विद्यालयलाई तत्काल सुचारु गर्न कठिनाई हुनेछ । त्यस्तै लकडाउन पछि पनि विद्यालय सञ्चालन गर्न न्यूनतम स्वास्थ्य सुरक्षा अपनाउनको लागि प्रत्येक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसको तयारी सरकारले अहिले सम्म गरेको छैन । त्यसैले लामो समयसम्म विद्यालय शिक्षा बन्द हुने भन्दै विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समितिले छलफल सुरु गरेको हो ।ekantipur

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close