
नेसनल मेडिकलमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ, अस्पताल सिल गर्ने तयारी
वीरगञ्ज १२ जेठ – नेसनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय वृद्धको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । जेठ ४ गते नेसनल मेडिकल कलेजमा मृत्यु भएका बारा जिल्लास्थति करैयामाई गाउँपालिको वडा नं. ७ का ७० वर्षीय पुरुषको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले वृद्धको वीरगञ्जस्थित नेसनल मेडिकलमा उपचारको क्रममा मृत्यु भएका पुष्टि गरेका छन् । मेसु उपाध्यायले पिसीआर प्रविधि मार्फत परिक्षण गर्दा मृतक वृद्धको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको बताए ।
यात्रा डेलीसँग कुरा गर्दै मेसु डा. उपाध्यायले उक्त खबरको पुष्टि गरे । मेडिकल कलेजले उक्त वृद्धको शव रिपोर्ट नआउँदै परिवारलाई बुझाएको थियो । परिवारका व्यक्तिले वृद्धको अन्त्येष्टि समेत गरिसकेका छन् ।
वृद्धलाई जेठ २ गते दिउँसो १ वजे नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया समेत देखिएको थियो । आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघी उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो । तर स्वाबको रिपोर्ट नआउँदै जेठ ४ गते उनको मृत्य भयो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
बस्नेतले भने, ‘मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।’
योसँगै नेपालममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।source:- yatradaily.com




