
नेपाली कांग्रेसको संस्थापन (शभापति शेरबहादुर देउवा) इतरका जिल्ला सभापतिहरुले पार्टीका क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
शुक्रबार एक वक्तव्य जारी गर्दै संस्थापन इतरका जिल्ला सभापतिहरुले केन्द्रीय सफ्टवेयर प्रणालीभित्र इन्ट्री गरिएका क्रियाशील सदस्यता नामावली तत्काल सार्वजनिक गर्न र सो सूची अध्ययन गरी यथोचित राय प्रस्तुतिका लागि संक्षिप्त मौका प्रदान गर्न माग गरेका हुन्।
नामावली हेर्न तथा गम्भीर त्रुटी सच्याउने न्यूनतम अवसर समेत नदिइ जबर्जस्ती अघि बढ्न खोजिएमा यसले गंभीर समस्या निम्त्याउने जिल्ला सभापतिहरुले चेतावनी समेत दिएका छन्।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता छानबिन सम्वन्धमा केन्द्रीय समितिले निर्धारण गरेका मापदण्डहरु केवल ‘देखाउने दाँत’ मात्रै भएको समेत आरोप लगाएका छन्।
‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति स्वयंले माग गरेअनुसार प्राप्त गुनासा वा उजुरीहरुको समेत सम्बोधन भएको छैन। अन्य पार्टीबाट समायोजन भएकाहरुको नाममा अन्धाधुन्ध क्रियाशील सदस्यता फाराम पठाउने र खास जिल्ला, क्षेत्र, पालिका वा वडामा खासखास व्यक्तिलाई लाभ वा हानी गराउने किसिमको योजनावद्ध खेल अहिले पनि जारी छ,’ संस्थापन इतरका जिल्ला सभापतिहरुद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘शतप्रतिशतभन्दा बढी थपिएका नामहरु अझै हटाइएको छैन। एकातिर वडा भेलाको निर्णयसहित वडा कार्यसमितिबाट सिफारिस भएका नामहरु अझै इन्ट्री गरिएको छैन भने अर्कोतर्फ वडा तहबाट सिफारिस नभएका नामसमेत थपिएका छन्।’
जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशनका सन्दर्भमा केन्द्रीय नेतृत्व (पार्टी सभापति देउवा) असंवेदनशीलतारुपी मौनता साँधेको पनि आरोप लगाएका छन्।
‘कठिनाइका बाबजुद अधिवेशनको तयारीमा जुटेका स्थानीय साथीहरु अधिवेशन कहिले हुन्छ? कुन विधिबाट हुन्छ? पालिकास्तरको निर्वाचनमा मतदाता को को हुन्छन्? निर्वाचन निर्देशिका कहिले आउँछ? वडादेखि जनसंख्याको आधारमा हुने समानुपातिक समावेशीको प्रतिनिधित्व संख्या के कसरी हुन्छ? भनेर प्रश्न सोध्दा-सोध्दा थाकिसक्नुभो तर हामी आजसम्मपनि यी यावत सवालहरुमा नाजवाफ रहनुपरेको छ,’ सभापतिहरुको वक्तव्यमा भनिएको छ, ‘आखिर केन्द्रीय नेतृत्वबाट यतिसम्म असंवेदनशीलतारुपी मौनता किन ? त्यसमाथि, महाधिवेशनको मूल आधारको रुपमा रहेको क्रियाशील सदस्यता सूची निर्धारणको क्रममा देखिएका गंभीर अनियमितता, मापदण्ड विपरीतका चलखेल र अपारदर्शी गतिविधिले संगठनको जगमा क्रियाशील साथीहरुको मन-मुटु कुँडिएको छ र महाधिवेशनको निष्पक्षतामाथि नै संशय पैदा गरेको कुरा नेतृत्वतहले बेलैमा बुझ्न जरुरी छ।’ Nepal live




