
आर्थिक वर्षको अन्तिम दिन पर्सागढी नगरपालिकाले स्यानेटरी प्याड खरिद गर्न रकम निकासा गरेको छ।
नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क वितरण गर्दै आएको स्यानेटरी प्याड खरिद गर्न आर्थिक वर्षको अन्तिम दिन रकम निकासा गरेको हो।
नगरपालिकाले ०७७ साल असार ३१ गते स्यानेटरी प्याड खरिद गर्न ११ लाख २३ हजार रकम निकासा गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले जनाएको छ।
पर्सागढी नगरपालिकाले पालिकाभित्र रहेको राष्ट्रिय मावि बडेर्वालाई स्यानेटरी प्याड खरिद गर्न ५ लाख ९० हजार, नेरामावि बर्वा छोटैली, जनता मावि पकडिया बढनिहारलाई ९०÷९० हजार, नेपाल राष्ट्रिय आधारभूत विद्यालय झबराहा, हरदासपुर, एकटाँगा, कोइलाभार, गोडपसरालाई २५–२५ हजार रकम आर्थिक वर्षको अन्तिम दिन निकासा गरेको हो।
यस्तै, नेराआवि बहुअर्वा सिरालाई ६३ हजार, टिकुलीयालाई ७५ हजार र बागबानालाई ९० हजार गरी ११ लाख २३ हजार रुपैयाँ निकासा गरेको थियो।
आर्थिक वर्षको अन्तिम दिन उक्त बजेट निकासा गरिएकाले स्यानेटरी प्याड खरिद गरेर वितरण गर्ने समय नभएकाले निकासा गरिएको ११ लाख २३ हजार रुपैयाँ फिर्ता गर्न महालेखाले नगरपालिकालाई ताकेता गरेको छ ।
नगरपालिकाले ससर्त अनुदानबापत पाएको रकमबाट स्यानेटरी प्याड खरिदका लागि रकम निकासा गरेको थियो। ०७६।७७ को सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि यो कार्यक्रम घोषणा गरिएको थियो।
सामुदायिक विद्यालयमा अध्ययनरत किशोरवस्थाका छात्रालाई महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरूको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान हुनेछ।




