
वीरगञ्ज – कोरोना महामारीका बेला पर्साको पोखरिया नगरपालिकामा खरिद गरिएको औषधि तथा स्वास्थ्य उपकरणमा व्यापक अनियमितता भएको भेटिएको छ।
नगरपालिकाले कोरोना महामारीमा उपचारका लागि भन्दै खरिद गरेको मास्क, स्यानिटाइजर, ग्लोब्स, गाउनलगायत स्वास्थ्य उपकरण तथा औषधि खरिदमा अनियमितता भएको पाइएको हो।
कोरोना महामारी रोक्न खरिद गरिएको स्वास्थ्य सामग्रीमा बजारमा पाइने ती सामानको परल मूल्यभन्दा दोब्बर–तेब्बर बढी रकम आपूर्तिकर्तालाई भुक्तानी दिएको खुलेको छ।
कोरोना महामारीको पहिलो लहरको बेला ०७६।७७ मा नगरपालिकाले एउटै आपूर्तिकर्तासित १५ लाख ५१ हजार ७ सय ४६ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गरेको थियो।
सार्वजनिक खरिद नियमावलीविपरीत नगरपालिकाले बिना प्रतिस्पर्धा वनदेवी सप्लायर्सबाट उक्त मूल्य बराबरको स्वास्थ्य सामग्री खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन ०७८ मा उल्लेख छ।
त्यसमध्ये पनि नगरपालिकाले एउटै सामानको मूल्य फरक–फरक राखेर स्वास्थ्य सामग्री खरिद गरेको हो। कोरोना महामारीका बेला नगरपालिकाले मास्कको प्रकार नै उल्लेख नगरी एउटा मास्क ५ सय २० रुपैयाँमा खरिद गरेको महालेखाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
०७६।७७ मा कोरोना महामारी रोकथामका लागि खरिद गरेको स्वास्थ्य सामग्रीमध्ये ३ सय पिस मास्क प्रतिमास्क ५ सय रुपैयाँका दरले एक लाख ५६ हजारको मास्क खरिद गरेको महालेखाको प्रतिवेदनले जनाएको छ।
प्रतिमास्क ५ सय २० रुपैयाँ तिरेर खरिद गरिएको मास्क कुन प्रकारको हो भनेर नगरपालिकाले महालेखालाई जानकारी गराएको छैन।
यस्तै, सोही आर्थिक वर्षमा नगरपालिकाले सर्जिकल मास्कलाई प्रतिमास्क २० रुपैयाँ ३३ पैसाका दरले भुक्तानी दिएर ६ सय पिस सर्जिकल मास्क खरिद गरेको छ।
बजारमा सर्जिकल मास्कको खुद्रा मूल्य भने अधिकतम प्रतिमास्क १० रुपैयाँ पर्छ। यस्तै, ५ सय २० रुपैयाँका दरले कुन प्रकारको मास्क खरिद गरिएको हो भन्ने नगरपालिकाले नखुलाएकाले मास्क खरिदमा ठूलै अनियमितता पुष्टि भएको छ।
बजारमा पाइने के एन ९५ मास्कको पनि खुद्रा मूल्य बजारमा २ देखि ३ सयभन्दा बढी छैन। ५ सय २० रुपैयाँका दरले कुन प्रकारको मास्क खरिद गरिएको भन्ने विषयमा पोखरिया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कौशलेन्द्र मिश्रासित सम्पर्क गर्दा उनले आफूलाई मास्क खरिदबारे थाहा नभएको प्रतिक्रिया दिए।
कोरोना महामारीका बेला औषधि तथा स्वास्थ्य सामग्री नगरपालिकाले नै खरिद गरेको तर आफूलाई त्यसबारे केही जानकारी नभएको भन्दै उनले कुन प्रकारको मास्क कुन दरमा खरिद भएको भन्ने लेखालाई जानकारी हुने बताए।
‘औषधि र स्वास्थ्य सामग्री नगरपालिकाले नै खरिद गरेको थियो, त्यसबारे मलाई केही जानकारी छैन,’ उनले भने, ‘कुन मास्क कति रेटमा खरिद भएको हो यसबारे लेखालाई जानकारी हुन्छ।’
यसैगरी, नगरपालिकाले १ सय २८ वटा पीपीई सेट प्रतिसेट ६ हजार ५ सय ५३ रुपैयाँका दरले ८ लाख ३८ हजार ८ सय रुपैयाँ आपूर्तिकर्ता कम्पनी वनदेवी सप्लायर्सलाई भुक्तानी दिएको छ।
ह्यान्डवास ५० वटा ५ सयका दरले २५ हजार, ५ सय ३७ बोतल स्यानिटाइजर २ सय ५७ रुपैयाँ ६० पैसाका दरले एक लाख ३८ हजार ८ सय ५०, १२ वटा अटो अक्सिमिटरका लागि ३ हजार ४ सय ५० दरले ४१ हजार ४ सय रुपैयाँ नगरपालिकाले आपूर्तिकर्तालाई उपलब्ध गराएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, २० पिस डिजिटल थर्मोमिटर प्रति पिस २ सय ८७ रुपैयाँ ५० पैसाका दरले ५ हजार ७ सय ५० रुपैयाँ, गाउनको दररेट परिमाण नखुलाई ५७ हजार ५ सय, एक हजार ४ सय ४० पिस सेफ ह्यान्ड्स एक सय ९० पैसाका दरले एक लाख ४५ हजार २ सय ६४ रुपैयाँ नगरपालिकाले स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई भुक्तानी दिएको छ।
त्यस्तै, नगरपालिकाले २ सय पिस ह्यान्ड ग्लोब्स प्रति पिस ५० रुपैयाँका दरले १० हजार, ३ सय पिस इकाजाइम ग्लोब्स प्रति पिस ५० रुपैयाँका दरले १५ हजार र १० पिस इन्फारेड थर्मोमिटर प्रति पिस १२ हजार रुपैयाँका दरले एक लाख २० हजार आपूर्तिकर्ता कम्पनी वनदेवी सप्लायर्सलाई भुक्तानी दिएको छ।
यी सबै सामग्री खरिद गर्न नगरपालिकाले १५ लाख ५१ हजार ७ सय ६४ रुपैयाँ खर्च गरेकामा उक्त खर्च अनियमित भएको भन्दै महालेखाले बेरुजु गरिदिएको छ।Deshsanchar




