पार्टीको शपथग्रहण कार्यक्रममा ‘हत्या’ गरिएका मुकेश चौरसियालाई सहिद घोषणा गर्न माग

वीरगञ्ज – तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको पर्साको बिन्दवासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा भाटा प्रहार गरी हत्या गरिएका सोही गाउँपालिकाका मुकेश चौरसियालाई सहिद घोषणा गर्न नेताहरूले माग गरेका छन्।

बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वा भाटा निवासी चौरसियाको पहिलो वार्षिक श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेताहरूले उनलाई सहिद घोषणा गर्न माग गरेका हुन्।

बहुअर्वा भाटामै आइतबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ ९अनिल०ले चौरसियाको हत्या राजनीतिका कारण भएको बताउँदै उनलाई सहिद घोषणा गर्न सरकारसित माग गरे।

कार्यक्रममा उनले राजनीतिमा लोकप्रिय हुँदै आफ्नो जीवन गुमाउन पुगेका चौरसियाले के पाए भन्ने कुराको जवाफ माओवादी पार्टीले दिनुपर्ने बताए।

चौरसियाको योगदानलाई कदर गर्दै अगामी स्थानीय तहको चुनावमा माओवादी केन्द्रले उनको परिवारलाई अगाडि ल्याई टिकट दिनुपर्ने धारणा व्यक्त गरे।

‘राजनीति गरेकै कारण मुकेश चौरसियाको हत्या गरियो, उनका परिवारले के पाए?’ उनले प्रश्न गर्दै भने, ‘यसको जवाफ सिंगो पार्टीले दिनुपर्छ।’

श्रद्धाञ्जली कार्यक्रममा तत्कालीन नेकपाका बिन्दवासिनी गाउँपालिका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले पूर्वयोजनासाथ नेकपाको शपथ कार्यक्रममा आएर मुकेश चौरसियालाई भाटा प्रहार गरी हत्या गरिएको बताए।

उनले आफूसहित चौरसियाले शपथग्रहण कार्यक्रम राखेका बेला बाहिरबाट आएका व्यक्तिले कार्यक्रम बिथोल्दै चौरसियाको हत्या गरेको दाबी गरे।

चौरसियाको हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताउँदै उनले मुकेश चौरसियालाई सहिद घोषणा गर्नुपर्ने माग गरे।

उनले चौरसियाका परिवारलाई क्षतिपूर्तिसहित एक मात्र उनका नाबालक छोराको शिक्षा दीक्षाको निःशुल्क व्यवस्था गर्न माग गरेका थिए।

‘नेकपाको शपथग्रहण कार्यक्रमलाई बिथोलेर पूर्व योजना बनाएर मुकेश चौरसियाको हत्या भएको थियो,’ उनले भने, ‘हत्यारालाई कडा कारबाही र उनलाई सहिद घोषणा गर्नुपर्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साहले मुकेश चौरसियाको हत्याले पूरै गाउँपालिका दुखित बनेको बताए।

गाउँपालिकामा विकास निर्माणमा सधँै सहयोग गर्ने र कसरी पालिका अघि बढ्छ भन्नेमा सधैँ चौरसियाले आफूलाई सल्लाह सुझाव दिने गरेको साहले बताए।

गत वर्ष कात्तिक ६ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा मुकेश चौरसियालाई भाटा प्रहार गरी घाइते बनाइएकामा त्यसको भोलिपल्टको उपचार क्रममा उनको वीरगञ्ज्मा मृत्यु भएको थियो।

उनी पूर्वमाओवादी केन्द्रको तर्फबाट नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीका सचिव चुनिएका थिए। श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रसँगै कांग्रेस, जसपा नेपाल, आम आदमी पार्टीलगायतका कार्यकर्ता सहभागी थिए। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close