भगवान् श्रीराम उत्सवको खुशीयाली मनाउन वीरगन्ज बन्यो ‘भगवामय’

भगवान् श्रीराम उत्सवको खुशीयाली मनाउन वीरगन्ज बन्यो ‘भगवामय’

अयोध्याको नवनिर्मित श्रीराम मन्दिरको सोमबार उद्घाटनसंगै भगवान राम र सीताको मूर्ती प्राण प्रतिष्ठापनि हुन गइरहेका छ ।त्यसैलाई लक्षित गरि वीरगन्ज महानगरमा रहेका हरेक मठमन्दिरलाई सजाएर आकर्षक पारिएको छ। मुख्य बजार क्षेत्रका सडककासाथै घरघरमा ‘जय श्रीराम’ लेखिएको भगवा रंगको झण्डा र ध्वजापतका झुण्ड्याइएको छ ।यस्तै बजार क्षेत्रका मुख्य मुख्य चोकमा भगवान श्रीरामको तस्बिरसहितका ठूला ठूला ब्यानर राखिनुका साथै पर्खालहरुमा श्रीराम कथा वर्णनका चित्रहरुपनि कोरिएको छ ।

महानगरका हरेक घरघरमा सोमबार साँझ दीयो बालेर दीपावलीपनि मनाउने तयारीमापनि महानगरबासी स्वस्फूर्त रुपमा जुटेका छन् ।

वीरगन्जको मुख्य धार्मिकस्थल,प्रसीद्ध शक्तिपिठ माईस्थानको गहवामाई मन्दिर प्राङगणमा सोमबार साँझ १ लाख २५ हजार वटा दीयो बालेर भव्य दीप प्रज्वलन कार्यक्रमपनि राखिएको कार्यक्रमका संयोजक सन्जय सर्राफले जानकारी दिए । दीप प्रज्वलनसंगै महाआरती र हनुमान आरधानाको कार्यक्रमपनि गरिने उनले बताए ।

यस्तै झण्डै पाँच दशक पूरानो वीरगन्जकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर सोमबार भगवान राम, सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठा गरिदैंछ । त्यसका लागि महानगरपालिकाको आयोजनामा भव्य तयारी गरिएको छ ।

झण्डै तीन दशकदेखि नीजि व्याक्तिको कब्जामा रहेको उक्त श्रीरामजानकी मन्दिरलाई महानगरपालिकाले हालै अतिक्रमणमुक्त गरी सौन्दर्यकरण गरेको छ । सोमबार नै उक्त मन्दिरमा भगवान राम, सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठा गर्न लागेको हो ।

अयोध्यामा श्रीराम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर श्रीरामजानकी मन्दिरमा भगवान राम, सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठा गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।उनका अनुसार, प्राण प्रतिष्ठाको दिन सोमबार बिहान ८ बजे भव्य कलश यात्रा निकालिने , दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पूजन विधी हुने, सवा लाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर प्रसाद वितरण गर्ने कार्यक्रमपनि रहेको उनले बताए।

श्रीरामजानकी मन्दिरमा सोमबार हुने भगवान राम, सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठामा सहभागी हुन महानगरबासीलाई मेयर सिंहको तर्फबाट सार्वजनिक आह्वान समेत गरिएको छ ।

अयोध्याको राम मन्दिर उद्घाटनकै खुशीयाली मनाउन वीरगन्जमा विश्व हिन्दु परिषदलेपनि भव्य तयारी गरेको छ । परिषदका पर्सा सचिव विक्की सर्राफका अनुसार, अयोध्याको राम मन्दिर उद्घाटनको दिन सोमबार वीरगन्जमा भव्य मोटरसाइकल ¥यालीकासाथै भव्य झाँकी प्रदर्शन गरिनेछ ।सोमबार बिहान मोटरसाइकल ¥यालीसंगै सात वटा ट्रकमा स्टेज बनाएर भगवान श्रीरामको जन्मदेखि वनबासपछि अयोध्या फिर्तीसम्मको कथा वर्णनको झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गरिने सर्राफले बताए ।

यसका साथै सोमबार साँझ घरघरमा दीप प्रज्वलन गरी दीपावली मनाउन सार्वजनिक आह्वानपनि गरिएको जानकारी सर्राफले जानकारी गराए ।

संघका सचिव सर्राफले भने,‘ भगवान राम कुनै यो वा त्यो देशका होइनन् । उनी विश्वभरका हिन्दुका साझा भगवान हुन् । त्यसमापनि झण्डै पाँचसय वर्षदेखि पालभित्र बसिरहेका रामलल्ला सोमबार आफनै घरमा फर्किदैछन् । हिन्दुहरुलाई यो भन्दा ठूलो खुशी अरु के नै हुन सक्छ र ? त्यहि खुशीयाली मनाउन वीरगन्जमापनि भव्य तयारी गरिएको हो ।’

राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठाका दिन सोमबार वीरगन्ज महानगरसहित जिल्लाका विभिन्न्न पालिकाहरुमा माछा,मासु र मदिराको बिक्रिवितरण र सेवन निषेध गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिका,पोखरीया नगरपालिका,बहुदरमाई नगरपालिका, जगरनाथपुर ,धोबिनी,कालिकामाई ,पटेर्वासुगौली लगायतका गाँउपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सोमबार माछा,मासु र मदिराको बिक्रिवितरण र सेवन नगर्न निर्देशन दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close