को हुन डा.निरज सिंह?

को हुन डा.निरज सिंह?

राहुल गुप्ता 

बिरगंजका चर्चित डाक्टरहरु मध्ये सब भन्दा बढि चर्चा कमाएका डाक्टर हुन डा.निरज सिंह।स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवम् कर्तव्यनिष्ठ रहेका उनलाई वीरगन्जमा नचिनेका सायदै कोइ होला।नारायणी अस्पतालका बरिष्ठ फिजिसियनको रुपमा रहेका डा. सिंह विभिन्न स्वास्थ शिबिर मार्फत गरीब असहाय लाई पैसा बिना पनि इलाज गर्दै आएका छन। त्यस्तै कोभिड माहामारीकाे आक्रन्तको बेला वीरगन्ज र यस वरिपरीको क्षेत्रका,पर्साका ग्रमिण भु-भाग,बारा,रौतहट र सर्लाहीको जनताको बिचमा आशाको किरणको रुपमा स्थापित भएका थिए।नारायणी अस्पताल,एड्भान्स मेडिकेयर,अलि अर्थो हास्पिटल र शान्ति पोली क्लिनिक वीरगन्जमा कोविडका बिरामीहरूलाई भर्ना एवम ओ.पि.डि.मार्फत डा.सिंहले पुर्याएका योगदानलाई कहिले बिर्सिन सकिदैन।

राष्ट्रपतिले प्रदान गर्ने प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभुषित समेत भइसकेका उनी कोभिड महामारीको बेला मधेस प्रदेश मै उल्लेखनीय भूमिका निर्वाह गरेवापत बारबरा फाउण्डेसनले समेत उनलाई सम्मानित गरिसकेको छ ।

न्यून वर्गदेखि उच्च घराना सम्मका विरामीको उपचार गर्दै आएका डा.सिंह अहिले नेपाल चिकित्सक संघको केन्द्रिय उपाध्यक्ष हुन भने मधेश प्रदेशको संयोजक समेत हुन। प्रहार डेलिका संचालक राहुल गुप्ता संग कुराकानी गर्दै उनले आफ्नो जिवनको उतारचढाव बारे बताएका छ्न।

बुबा सरकारी जागिरमा कार्यरत हुनु हुन्थ्यो। त्यसकारण पनि बुवाको सरूवा सँगै आफ्नो विद्यालय र शहर फेरि सामान्य जस्तै भएको थियो। सर्लाहीको मलंगवामा पढ्दै गर्दा छिमेकमा एकजना डा.गंगाधर झा हुनुहुन्थ्यो।वहाँको सानो अस्पतालमा मानिसहरु रोएर आउने केही समय वा केही दिनपछि घर फर्कदा हासेर खुशी भएर जाने नियमित जसो मैले देखि।मनमा धेरै कुराहरु खेल्थ्यो,तर सोचेर आनन्द आउँथ्यो,यो कस्तो राम्रो पेशा जहाँ मानिस दुःखी भएर आउँछन र खुशी बोकेर घर फर्कन्छन्।त्यसपछि जे सुकै परोस जीवनमा डाक्टर चैं बन्नैपर्छ भनेर अठोट लिए।घरमा पनि बुवाआमाले सकारात्मक ढंगले प्रोत्साहन दिनथाल्नु भयो।धेरै संघर्ष र चुनौतीहरुको सामना गर्दै २०१३ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गत नेपाल मेडिकल कलेजबाट MD (internal medicine) अध्ययन पुरा भयो।आफू पढेकै कलेजमा जागिर गरेर काठमाडौलाई नै आफ्नो कार्यथलो बनाउन बिचार गर्दै थिएँ । एकपटक घरमा पनि सल्लाह गरौं भनेर बुवाको अगाडि काठमाडौँ नै बस्ने प्रस्ताव गरें । बुवाले ठाडै अस्वीकार गर्नुभयो।मैले राष्ट्रियरूपमा स्थापित हुन काठमाडौं बस्न जरूरी छ भनेर धेरै नै जिद्धी गरें । बुबाले भन्नुभयो, सबैजना काठमाडौं नै बस्ने हो भने; आफ्नो गाउठाउँको विकास कसरी हुन्छ ! ‘जुन समाजले तिमीलाई स्थापित गयो; त्यस समाजप्रति पनि तिम्रो केही जिम्मेवारी हुन्छ ।’ बुवाको अडान अगाडि मेरो स्वर मलिन भयो।त्यसपछि बीरगञ्ज मै स्थापित हुने सोचका साथ यहाँ(इन्डोक्राइन) प्राक्टिस्नर फिजिसियनको रूपमा आफूलाई प्रस्तुत गरें।

नारायणी अस्पताल (सरकारी) र बीरगञ्जमा रहेको शान्तिपोलिक्लिनिकलाई आफ्नो कर्मथलो बनाएर मेहनत गर्न शुरू गरें।तराई (मधेश) क्षेत्रमा उपचार गर्न आफ्नै किसिमको चुनौतीहरु थियो र अझै पनि छन । यहाँको गरिबी र अशिक्षा नै स्वास्थ्य सेवाको ठुलो बाधक हो । चिकित्सा पेशामा बिरामी अथवा सेवाग्राहीलाई रोगको प्रकृति,रोगको उपचार तथा रोगको सम्भावित जटिलताबारे जानकारी गराउनु ठूलो चुनौति हुन्छ । अशिक्षा र गरिबीको पराकाष्टाको कारण यो चुनौति तराई मधेश) मा दोब्बर हुन जान्छ ।

अङ्ग्रेजी भाषामा अध्ययन गरेको मेडिकल साइन्सलाई बिरामी वा सेवाग्राहीको शिक्षाको तथा आइक्यु लेभल (IQ level) हेरेर भोजपुरी भाषामा रोगको बारेमा व्याख्या गर्नु फलामको चिउरा चपाउनु सरह हो।धेरै जनसंख्या र जनघनत्वको कारणले पनि तराई मधेशमा सरूवा रोगको बिरामीहरुको संख्या पनि उल्लेखनीय मात्रामा पाइन्छ।

त्यसैगरी पर्सा जिल्लाको सदरमुकाम बीरगञ्ज महानगरपालिकामा नेपालकै प्रतिष्ठित औद्योगिक घरानाहरूको बसोबास पनि छ । बीरगञ्जमा काम गर्दा हाम्रो सेवाग्राहीको समूहमा प्रतिष्ठित उद्योगी व्यवसायी पनि पर्नुहुन्छ,कामको विविधता यस्तो छ,पाँच मिनेटभित्रै एउटा बिरामी अति नै महँगो कारमा दिल्ली र थाइल्याण्डमा उपचार गरेको फाइल बोकेर थप सल्लाह लिन आउँछन् भने अर्को बिरामीको खुट्टामा चप्पल पनि हुँदैन र खानैपर्ने अति आवश्यक औषधिहरु छोडेर स्वास्थ्यप्रति हेलचेक्र्याई गरेको घटनाहरु प्रशस्त देखिन्छ ।

आफू पेशागत र सामाजिक रूपमा स्थापित हुँदै गर्दा आफ्नोसमाज राष्ट्र र पेशाप्रति पनि आफ्नो क्षमता र पहुँचले भ्याएसम्म नेपाल चिकित्सक संघसँग आबद्ध भई नीति निर्माणको तहमा केही महत्वपूर्ण कामहरु गर्नुपर्ने आवश्यकता महसुस गरेर निर्वाचनमा सहभागी भएर विजय पनि भएँ सह-सचिवको रुपमा एउटा कार्यकाल सफलतापुर्वक सकेर अहिले केन्द्रिय उपाध्यक्ष तथा (मधेश प्रदेश) संयोजकको भूमिका निर्वाह गर्दैछु।

स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको समस्याप्रति सरकार र सरकारका संयन्त्रलाई नियमितरुपमा खबरदारी गर्ने आफ्नो जिम्मेवारी निभाउँदै आएको छु । राज्यको अस्थिर राजनीति र दुर्बल आर्थिक पक्षले गर्दा स्वास्थ्यकर्मीहरूको समस्याप्रति राज्यले उपेक्षा गरेको स्पष्ट महसुस गरेको देखिन्छ।स्वास्थ्य क्षेत्रप्रति राज्यले देखाएको उदासिनता छर्लङ्गै छ।

अन्त्यमा तराई (मधेस) को स्वास्थ्य समस्या उकास्न स्वास्थ्य क्षेत्रभन्दा बढी शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक देख्छु । शिक्षाको स्तर उकासिन सक्यो भने स्वास्थ्यको ५० प्रतिशत देखि ६० प्रतिशत समस्या आफै समाधान हुने अवस्था अनुमान गर्न सकिन्छ।

डा.निरज कुमार सिंह
केन्द्रिय उपाध्यक्ष-नेपाल चिकित्सक संघ तथा (मधेश प्रदेश) संयोजक

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close