
माध्यमिक शिक्षा परिक्षा (एसईई) काे तेस्राे दिन आइतबार परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको जिल्ला परीक्षा समन्वय समितिकाे टाेलीले अनुगमनका क्रममा वीरगन्जको सुर्जीदेवी माध्यममिक विद्यालयलकाे परीक्षा केन्द्रमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित पाँच जना पक्राउ गरेकाे हाे।
अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले अनुगमन गर्ने क्रममा परिक्षाकाे मर्यादा विपरीत काम गरेकाे फेला पारेपछि केन्द्राध्यक्ष नन्दकिशोर रामसहित एक सहायक केन्द्राध्यक्ष,एक निरीक्षक र दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
उनका अनुसार,पाँचै जनालाई अहिले प्रहरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । उक्त परीक्षा केन्द्रमा परिक्षाको मर्यादाविपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टीम नै परिवर्तन गर्ने तयारीसमेत गरेको प्रजिअ अर्यालले बताए।
यसअघि परिक्षाकाे पहिलाे र दाेस्राेदिन पनि पर्सामा परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै एक केन्द्राध्यक्ष र ३ जना निरीक्षक कारबाहीमा थिए।
गत शुक्रबार वीरगन्जको माइस्थान विद्यापीठ माविकाे परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा समन्वय समितिले कारबाही गर्दै आइतबारदेखि सर्राफलाई परीक्षा केन्द्रमा प्रवेशमा राेक लगाएकाे छ।
त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ माविका धर्मेन्द्र यादव र रामबालक यादवलाईपनि कारबाही गरिएको प्रजिअ अर्यालले बताए ।




