कलैया यातायात कार्यालय: राजस्वको चमकभित्र लुकेको भ्रष्टाचार र सडक सुरक्षाको संकट

कलैया यातायात कार्यालय: राजस्वको चमकभित्र लुकेको भ्रष्टाचार र सडक सुरक्षाको संकट

कलैया, बारा – मधेश प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था कार्यालय, कलैयाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको दाबी गरेको छ। कार्यालय प्रमुख अरविन्दर दासका अनुसार, सवारी करबाट मात्रै करिब ३ करोड ८३ लाख रुपैयाँ उठाइएको छ। तर, यो संख्यात्मक उपलब्धिको पछाडि लुकेको कमिसनको खेल, अनियमितता र सेटिङको जालोले सडक सुरक्षा र जनजीवनमा गम्भीर प्रश्न खडा गरेको छ।

कार्यालयले अनुमति पत्र (लाइसेन्स) दर्ता, नवीकरण, पटके लगायतका सेवा शीर्षकबाट राजस्व संकलन गरेको दाबी गरिए पनि सो प्रक्रिया पारदर्शी नभएको स्रोतहरू बताउँछन्। स्रोतअनुसार, कार्यालयका केही कर्मचारी र बिचौलियाको मिलेमतोमा नियमविपरीत सवारी अनुमतिपत्र वितरण भइरहेको छ। सेटिङ र घूसको भरमा अनुमति पाएका चालकहरू सडकमा जोखिम बनेका छन्, विशेष गरी तालिम र ट्रायल बिना लाइसेन्स लिनेहरूको संख्याले दुर्घटनाको जोखिम बढाएको छ।

कार्यालय प्रमुख दासले मासिक राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँको वृद्धि भएको उल्लेख गरे पनि, यस उपलब्धिको पछाडि रहेको अनियमितता र कमिसनको संरचना गम्भीर आलोचनाको विषय बनेको छ।

कलैयाको यातायात कार्यालयमा देखिएको सेटिङ संस्कृति नयाँ होइन। पूर्व प्रमुख सत्यानारायण यादवबाट सुरु भएको गैरकानूनी लाइसेन्स वितरण प्रणालीलाई वर्तमान प्रमुख अरविन्दर दासले संस्थागत रूप दिएको आरोप लाग्दै आएको छ। ‘पैसाले सबै चल्छ’ भन्ने मनोवृत्तिले कार्यालयलाई भ्रष्टाचारको अखडा बनाएको आरोप छ।

दासले आफूलाई रौतहटबाट कलैयामा ल्याउन ठूलो रकम खर्चिएको खुलासा गरेका छन्। “मन्त्रीदेखि अख्तियारसम्म पैसा दिएको छु, मलाई केही डर छैन,” भन्ने उनको भनाइ सार्वजनिक भएपछि प्रदेश सरकारको निष्ठा र अख्तियारको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। अख्तियारको छानबिनमा समेत परिसकेका उनी अहिले बारा जिल्ला को यातायात प्रमुख भएर काम गरिरहेका छन । यो अनौठो रहेको छ । त्यस्तै अख्तियार ले पनि छापा हान्दा अहिले सम्म पनि अनियमितता हुने गरेको छ ।

मधेशमा मोटरसाइकल दुर्घटनाको महामारी
नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे (NDHS) अनुसार, मधेश प्रदेशमा प्रति १ लाख जनसंख्यामा १,४३० जना सडक दुर्घटनाबाट घाइते वा मृत्युवरण गर्ने गरेका छन्, जुन देशको सबैभन्दा उच्च दर हो। नेपालभर हुने कुल सडक दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकलसँग सम्बन्धित छन्, र त्यसमा पनि १५–२४ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी प्रभावित छन्।

स्थानीय ट्राफिक अधिकृतहरूका अनुसार, दुर्घटनाको प्रमुख कारणहरूमा तीव्र गति, मादक पदार्थ सेवन, सडकको बिग्रिएको अवस्था र ट्राफिक नियम उल्लंघनका साथै लाइसेन्स वितरणमा भएको भ्रष्टाचार पनि सामेल छ। “धेरै चालकहरूले ट्रायल नदिई वा फेल भए पनि पैसा दिएर लाइसेन्स पाएका छन्,” एक अधिकृत भन्छन्।

मुख्यस्रोतले खुलासा गरेअनुसार, कार्यालय प्रमुख दासले खुल्ला रूपमा मन्त्री ‘आफ्नै पकेटका’ भएको दाबी गर्दै आएका छन्। यस्तो अवस्थामा प्रदेश सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआउनुले मन्त्री कौशल किशोर रायको भूमिका र संलग्नतामाथि जनस्तरमा शंका उत्पन्न भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close