
मधेस प्रदेश अन्तर्गत वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक राजस्व संकलन गर्दै १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ सरकारी खातामा जम्मा गरेको छ।
कार्यालय प्रमुख कुसेश्वर साहका अनुसार यो अघिल्लो वर्षको तुलनामा झण्डै १० करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
साहका अनुसार सवारीसाधन कर नै प्रमुख स्रोत रहँदै १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ संकलन भएको छ, जुन कुल राजस्वको झण्डै ७५ प्रतिशत हिस्सा हो।
अन्य राजस्व स्रोतहरू पनि प्रभावकारी
सवारी दर्ता, चालक अनुमति पत्र, नवीकरण, र सम्बन्धित दस्तुरबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
रुट परमिट, प्रदूषण जाँच तथा पाटके दस्तुरबाट ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व आर्जन गरिएको छ भने प्रशासनिक जरिवाना तथा जफतबाट १४ हजार ५ सय रुपैयाँ संकलन भएको जानकारी कार्यालयले दिएको छ।
नीतिगत सहुलियतले राजस्व वृद्धि
कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार प्रदेश सरकारले सवारीसाधन नवीकरणमा जरिवानामा छुट दिने निर्णय गरेपछि धेरैले बक्यौता कर बुझाएका छन्। जसले गर्दा अघिल्लो वर्षको तुलनामा राजस्वमा उल्लेखनीय वृद्धि भएको हो।
राजस्व वृद्धिले सकारात्मक सन्देश
यातायात व्यवस्थापन सुधार, सेवा प्रभावकारिता तथा करदाताको सहभागिता वृद्धि जस्ता कारणले वीरगञ्ज कार्यालयको राजस्व संकलनमा सुधार आएको विश्लेषण गरिएको छ।




