
राहुल गुप्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संविधानसभा सदस्य राजेन्द्र बहादुर आमात्यले पर्सा–२ बाट उम्मेदवारीको सम्भावना सार्वजनिक गरेसँगै, कांग्रेसभित्रको शक्ति सन्तुलन हल्लिन थालेको छ। अघिल्लो निर्वाचनमा विजयी भएका अजय कुमार चौरसियाको क्षेत्रमा आमात्यको ठोकरले स्थानीय राजनीति नयाँ मोड लिएको देखिएको छ।
२०७० मा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भूमिका खेलेका आमात्य अब पुनः राजनीतिक ‘कमब्याक’को तयारीमा छन्। उनको उम्मेदवारीले केवल स्थानीय नेतृत्वलाई मात्र होइन,कांग्रेसको केन्द्रीय रणनीतिलाई समेत फेरबदल गर्न बाध्य बनाउन सक्छ।
“संविधान लेख्नु भनेको इतिहास लेख्नु हो” – आमात्य
संविधान निर्माणको चुनौतीबारे बोल्दै आमात्य भन्छन् –
“जातीय, भाषिक, क्षेत्रीय र राजनीतिक भिन्नताबीच सहमतिको संविधान बनाउनू गाह्रो मात्र होइन, एक ऐतिहासिक जिम्मेवारी थियो। हामीले त्यो सफलतापूर्वक पूरा गर्यौं, त्यो हाम्रो पुस्ताको ऐतिहासिक योगदान हो।”
गुट, सन्तुलन र समीकरणमा खल्बली
राजनीतिक विश्लेषकहरू भन्छन् – पर्सा–२ मा आमात्यको आगमनले जातीय समीकरण, गुटगत सन्तुलन र स्थानीय नेतृत्वको हैसियत पुनः लेखिन सक्छ। चौरसियाको प्रभावशाली संरचना सामु आमात्यको ‘स्वच्छ छवि’ र ‘संविधान निर्माताको हैसियतले गम्भीर चुनौती खडा गरेको छ।
जनता बोले – “हामीलाई आमात्य जस्तो नेता चाहिएको हो!”
सामान्य कार्यकर्ता मात्र होइन,स्थानीय जनता आफैंले आमात्यको उम्मेदवारी माग गर्न थालेका छन्।
“हामीलाई सेवा गर्ने, सुन्ने, सिद्धान्तमा अडिने नेता चाहिएको हो – र त्यो नेता राजेन्द्र बहादुर आमात्य हो”,एक स्थानीय युवा कार्यकर्ताको भनाइ।
नेतृत्वलाई खुला सन्देश –‘अब नेतृत्व योग्यता र छविका आधारमा गर’
अहिलेको असन्तोष र नेतृत्वको चरम असक्षमता प्रति आमात्यले व्यंग्य गर्दै भने
“राज्यको प्रभावकारिता गुम्दैछ, दलहरू आन्तरिक मूल्यांकन गर्न तयार छैनन्। यस्तो अवस्थामा युवा पुस्ताले जिम्मेवारी लिनुपर्छ।”
पार्टीभित्र आधिकारिक निर्णय आउन बाँकी भए पनि, पर्सा–२ कांग्रेसको हाई-प्रोफाइल प्रतिस्पर्धा क्षेत्र बन्ने पक्का देखिएको छ। आमात्यले दिएको चुनौती सिधा पार्टी नेतृत्व, रणनीति र भविष्यको सोचाइलाई झक्झक्याउने खालको छ।
अब प्रश्न एउटै छ
नेपाली कांग्रेसले उम्मेदवारीको आधार अनुभव र जनसेवा बनाउने हो कि गुट र सन्तुलन?
राजेन्द्र बहादुर आमात्य राजनीतिमा शालीनता, सोच, र सिद्धान्तको प्रतीक हुन्। जब यस्तो व्यक्तित्वले पुनः जनतामाझ जाने संकेत दिन्छ, त्यो केवल उम्मेदवारी होइन,राजनीतिक पुनरुत्थानको संकेत हो।



